
काठमाडौं । हिजोआज इन्टरनेटको पहुँच बालबालिकासम्म पुगेको छ । स–साना बालबालिकासमेत स्मार्टफोन, टेबलेट, आईपेड तथा कम्प्युटरका माध्यमबाट इन्टरनेटको संसारमा रमाउने गरेका छन् । तर यस्ता बालबालिकाले इन्टरनेट चरम दुरुपयोग गर्ने गरेको अध्ययनले देखाएको छ । विभिन्न अन्तर्राष्ट्रिय तथ्यांक हेर्ने हो भने १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले इन्टरनेटमा गएर पूर्ण अश्लिल सामग्री हेरिरहेका हुन्छन् भने ८९ प्रतिशत बालबालिका च्याटमा साथीसँग सेक्ससम्बन्धी कुराकानी गरेर रमाइरहेका हुन्छन् ।
हालै गरिएको अध्ययनमा नेपालका सहरी क्षेत्रमा इन्टरनेट प्रयोग गर्ने ८२ प्रतिशत किशोरकिशोरीमध्ये ९८ प्रतिशतले अश्लिल सामग्री हेर्ने गरेको र १.७ प्रतिशतले आफूलाई मनपर्ने पाँच वेबसाइटमध्ये एक पोर्नोसाइट भएको बताएका छन् । यसबाट विश्वव्यापी रूपमै ‘चाइल्ड पोर्नोग्राफी’ समस्या बढिरहेको प्रस्ट हुन्छ ।
के हो चाइल्ड पोर्नोग्राफी ?
सामान्यतया बालबालिका नग्न तस्बिर तथा भिडियो हेर्ने र बनाउनेजस्ता अश्लिल गतिविधिमा संलग्न हुनु नै ‘चाइल्ड पोर्नोग्राफी’ हो । त्यतिमात्रै होइन, अश्लिल शब्द प्रयोग गर्ने, बालबालिकालाई अश्लिल शब्द बोल्न लगाउनु तथा उनीहरूका अगाडि यस्ता शब्द बोल्नु, अरुले दुरुपयोग गर्ने वा आफू नै संलग्न हुनुलगायत गतिविधि पनि ‘चाइल्ड पोर्नोग्राफी’मा पर्छन् ।
किन आकर्षित हुन्छन् ?
बालबालिकालाई शलील र अश्लिलताबारे राम्ररी थाहा हुँदैन । तर इन्टरनेटको पहुँच पाउँदा र यस्ता विषयमा आकस्मिक जानकारी पाउँदा बालबालिका त्यतातिर आकर्षित हुन्छन् । त्यतिमात्रै होइन, हिजोआज टेलिभिजन च्यानलहरूमा आउने अर्धनग्न दृश्य, भिडियो गेममा देखिने नग्नचित्र, अर्धनग्न तथा कामुक तस्बिर छापिएका विज्ञापन, पोस्टर तथा कपडाका दृश्यले पनि बालबालिकालाई अश्लिल गतिविधितिर तानिन्छन् । सजिलै पहुँच हुने यस्ता अश्लिल कुराले उनीहरूलाई जोखिमको बाटोमा लैजान सक्दछ ।
विभिन्न अध्ययनअनुसार एकल परिवारमा रहेका, अविभावक व्यस्त हुने, इन्टरनेट तथा मोबाइलमा पहुँच हुने, घर तथा स्कुलमा बालबालिकाले प्रयोग गर्ने इन्टरनेट अनुगमन तथा निगरानी नहुने, बालबालिकालाई गलत ढंगले इन्टरनेटमा अश्लिलताप्रति आकर्षण गर्ने गतिविधि तथा संगत र साथीसंगीको देखासिकीका कारण बालबालिका अश्लिल गतिविधिमा संलग्न हुने गरेको पाइएको छ ।
पोर्न र ब्रेन
बालबालिका तथा किशोरकिशोरीको मस्तिष्कमा इन्टरनेटका अश्लील सामग्रीले पार्ने कुलतको प्रभाव सामाजिक जीवनमै देखापर्छ । बालबालिकाले जब लुकीछिपी अश्लिल सामग्री हेर्छन्, साथीभाईसँग यसबारे कुरा गर्छन् । उनीहरूमा यौनप्रति गलत धारणा बन्न पुग्छ । अश्लील चित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ, यौन सामान्य र सहज हो भन्ने छाप पर्दछ । उनीहरू साथीसंगीसँग मात्र होइन, पाका व्यक्तिसँग पनि उत्तेजक व्यवहार गर्ने, परिवार र साथीभन्दा बेग्लै बस्न रुचाउने, लागूपदार्थको कुलतमा फस्ने, पढाइलेखाइप्रति रुचि नदेखाउने, सधैं इन्टरनेटमा बसेर त्यही मात्रै हेर्ने, अभिभावकको डरले ढाँट्ने र गलत बाटोमा फस्दै जाने खतरा हुन्छ ।
प्रतिक्रिया दिनुहोस