
गोरखा । ५ सय ४६ घरधुरी गुरुङ, घलेको बसोबास रहेको धार्चे गाउँपालिका ६ मा ३१ घरधुरी विश्वकर्मा समुदाय बस्छन्। जहाँ उनीहरू बस्छन्, त्यो उनीहरूकै घर हो, किनभने घरको लालपुर्जा उनीहरूकै नाममा छ। यहाँका घरमुली सबैको नाममा जग्गाधनी लालपुर्जा पनि छ। तर, गरिखाने जग्गाको होइन, घरले चर्चेको घडेरीको मात्रै। कतैका दलित समुदायलाई आफ्नो नाममा लालपुर्जा नभएर बेचैनी छ, तर यहाँका दलित समुदायलाई भने लालपुर्जा भएर तनाब छ।
सरकारले भूमिहीन दलितलाई भोगचलन गरी खाएको जग्गाको लालपुर्जा दिन हतार गरिरहेको छ, त्यो पनि प्राथमिकताका साथ। तर, यहाँका दलित समुदाय न उनीहरूसित गरिखाने भूमि छ, न भूमिहीन दलितमा पर्छन्। उनीहरूसित घडेरीको मात्र लालपुर्जा छ। साथमा जग्गाधनी लालपुर्जा भएको हुँदा यहाँका दलित समुदाय राष्ट्रिय भूमि आयोगको कार्यक्रमबाट पनि बञ्चित छन्।
‘बसेको घरबाहेक हामीसित कत्तिप नि जग्गा छैन’, स्थानीय साहिँली विश्वकर्मा भन्छिन्, ‘आरान कमाएर खानेलाई उहिले जग्गा दर्ता गर्नुपर्छ भनेर चेत भएन। अहिले आरानले मात्र पनि नधान्ने भयो। सन्तानले के खाएर पेट पाल्लान् भन्ने पीर मात्र छ।’
भूमिहीन दलित समुदायलाई सरकारले प्राथमिकताका साथ लालपुर्जा दिँदैछ भन्ने खबरले साहिँलीलाई खुसीभन्दा दुःखी बनाएको छ। ‘लालपुर्जा नभएकालाई सरकारले जग्गा दिँदैछ रे भन्ने सुनेको छु। तर, हामी लालपुर्जा भएकालाई कागलाई बेल पाक्यो हर्क न बिस्मात भएको छ’, साहिँली भन्छिन्, ‘आरानले सबैलाई धान्दैन, निमेकले पेट पाल्दैन।’
पुर्खाले गरिखाने जग्गाजमिन नजोडिदिएकामा उनले दुख व्यक्त गरिन्। ‘उतिबेला जग्गा फालाफाल हुँदा बाउबाजेले जग्गातिर ध्यान दिएनन्। बिस्टकै फलाम कुटेर जुनी बिताए। अहिले जग्गा छोइसक्नु छैन। पेट पाल्न धौधौ भएका बेला कसरी खेतबारी किन्ने ? ’, साहिली भन्छिन्।
प्रतिक्रिया दिनुहोस