जाजरकोट । जाजरकोट जिल्लाको सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा संकलन केन्द्र निर्माण गरिएको छ ।
सडकको पहुँच रहेको दहमा संकलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले संकलन केन्द्रको भवन निर्माण गरेको उनले जानकारी दिए ।
४१ लाख रुपैयाँमा निर्माण भएको भवनमा बारेकोटको पाटनबाट संकलन गरी ल्याइएको जडीबुटी व्यवस्थापन गरिने छ । जाजरकोटबाट जुम्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा गाउँपालिकाले लिएको छ ।
जडीबुटी सबैभन्दा बढी पाइने पाटन बारेकोट–४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताए ।
तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने संकलनकर्तालाई सहजता ल्याउने भएको छ । भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानी पुर्याउनेदेखि कुहिने डरबाट मुक्त भएको उनले बताए ।
२५ प्रकारका जडीबुटी बारेकोटमा पाउने गरेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले बताए । जडीबुटी उत्पादन र संकलनका दृष्टिकोणले बारेकोट–४ सबैभन्दा बढी उर्वरभूमि रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा जडीबुटी संकलनकर्ताबाट राजस्व स्वरूप ३३ लाख ७२ हजार १२५ रुपैयाँ संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
जिल्लाको कूल भूभागको करीब ५८ दशमलव १४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँका ९३५ जनताको मुख्य पेशा कृषि र वन क्षेत्रसँग सम्बन्धित क्रियाकलापसँग आबद्ध रहेका छन् । वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्वारा व्यवस्थित वन, कबुलियती वन तथा निजी वन व्यवस्थापन पद्धतिद्वारा वनको संरक्षण, संवद्र्धन तथा सदुपयोग हुँदै आइरहेको छ ।
जिल्लाको कूल वन क्षेत्रको ३८ दशमलव ४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा उपभोक्ता समूह गठन गरी वन व्यवस्थापन हुँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस