
काठमाडौं । पुस्तौंदेखि कृषि पेसा गरिरहेका मोलुङ गाउँपालिका–४, ओखलढुंगाका किसान रामप्रसाद खतिवडाले भैंसीपालनबाट दिनको ८ लिटर दूध संकलन गर्छन् । ५ जनाको परिवार रहेका उनलाई यतिका दूध सधैं बढी हुन्छ । बढी भएको दूधबाट घिउ बनाउँछन् । नजिकै दूध संकलन केन्द्र नहुँदा उनलाई दूध बेच्ने सुविधा छैन ।
‘मोलुङ गाउँपालिकामा किसानले घरैपिच्छेजसो भैंसी पालेका छन् । सबैको समस्या उस्तै छ । बढी भएको दूध बिक्री गर्ने ठाउँ छैन, मोही बनाएर भैंसीलाई नै खुवाउँछौं,’ खतिवडाले भने, ‘पनिर र दही बनाउने ठाउँ भए पैसाको मुख देख्न पाइन्थ्यो । सरकारले संकलन केन्द्र खोलिदिए दूध बिक्री गर्न पनि सजिलो हुन्थ्यो ।’
डेरी सञ्चालनका लागि गाउँपालिकाले चासो नदिँदा किसानको दूध बिक्री हुन नसकेको उनको गुनासो छ । मोलुङ गाउँपालिकासँगै जोडिएको सुनकोसी गाउँपालिकाका किसानको अवस्था पनि फरक छैन । ‘दुई वटा भैंसीबाट दैनिक १२ लिटर दूध उत्पादन हुन्छ । तर बिक्री गर्ने ठाउँ छैन,’ सुनकोशी गाउँपालिका–१० का किसान नीलराज पराजुलीले भने, ‘दूध बिक्री गर्न पाए किसानको आयआर्जन बढ्थ्यो । दूध, दही बिक्री हुँदैन, किसान सधैं मारमा छन् ।’ वडा सदस्यसमेत रहेका पराजुलीका अनुसार १० नम्बर वडामा १६ सय घरधुरी छन् । यसमध्ये १५ सय घरधुरीमा गाईभैंसी पालिएको छ ।
‘एउटै घरबाट दिनको ५ देखि २० लिटर दूध उत्पादन हुन्छ,’ उनले भने, ‘कतिपय किसानले सदरमुकाममा समेत पठाउँछन् । त्यहाँ पनि राम्रो बिक्री हुँदैन ।’ दूध बिक्री नहुँदा किसानले घिउ बनाउने गरेका हुन् । तर घिउ बिक्री हुन पनि कठिन रहेको पराजुलीको भनाइ छ । गाउँमा चिस्यान केन्द्र र बजारसम्म दूध पठाउन गाडीको सुविधा भए किसानको जीवनस्तर उकास्न सजिलो हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस