
काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमा पहिलो सम्बोधन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । अध्यक्ष ओलीले शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आइतवार बस्ने प्रतिनिधिसभा बैठकमा आफूले पहिलो सम्बोधन गर्ने बताएका हुन् ।
आजको बैठकको प्रारम्भमै आफूले सरकारको नीति तथा कार्यक्रमका बारेमा धारणा राख्ने भनाइ अध्यक्ष ओलीको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि आजबाटट छलफल सुरु हुँदै छ ।
एमालेले भने सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चिट चोर्न नजान्ने विद्यार्थीले लेखेको परीक्षा जस्तो भएकोले पारित हुन दिनु नहुने बताएका हुन् ।
सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस