aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उच्चले उल्टायो जिल्ला अदालतको फैसला, पृथ्वी मल्ललाई चार वर्ष थुन्न आदेश

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०८ जेठ २०८०
उच्चले उल्टायो जिल्ला अदालतको फैसला, पृथ्वी मल्ललाई चार वर्ष थुन्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ । जिल्ला अदालतले मल्ललाई दोषी ठहर गरे पनि ६ महिना मात्रै कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले आइतबार मल्ललाई चार वर्ष कैद सजाय निर्धारण गरेको हो ।

न्यायाधीशद्वय राजेन्द्र घिमिरे र जगदीश खरेलको इजलासले सवारी ज्यान मुद्दामा मल्ललाई कसुरदार ठहर गर्दै यसअघि गरेको ६ महिना कैदको फैसला बदर गर्दै सजाय थप गरेको हो । काठमाडौं जिल्ला अदालतले बूढानीलकण्ठको हिट एन्ड रन मुद्दामा पृथ्वी मल्ललाई मादकपदार्थ सेवन गरी सवारी चलाएर लापर्बाहीपूर्ण रूपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर त गरेको थियो तर मागदाबीभन्दा अघि बढेर अर्कै दफामा टेक्दै ६ महिना कैद हुने फैसला सुनाएको थियो ।

२०७८ चैतमा जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले उनलाई पुर्पक्षका क्रममा थुनामा बसेको अवधि बराबर हुनेगरी सजाय सुनाएको थियो । २०७६ मंसिर २८ गते सडकपेटी हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई मल्लले चलाएको कारले ठक्कर दिँदा मृत्यु भएको थियो । सो मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ३ बमोजिमको कसुर गरेको भन्दै ६ महिना कैद र २ हजार रुपैयाँ मात्रै जरिमाना गरेको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ३ मा ‘कसैको ज्यान मर्न सक्छ भन्नेजस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस