
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिवेदनमा प्रहरीले त्यस्तोसिफारिस गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले २०७९ चैत १२ देखि सुरु गरेको अनुसन्धान ५८ दिनमा पूरा गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र सङ्गठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानुनी दायरामा ल्याउन मिल्ने गरी पूरक प्रतिवेदन पुनः पेस गर्ने विकल्पसहितको अनुसन्धान प्रतिवेदन बुझाएको परिसरले जनाएको छ ।
परिसर प्रमुख दानबहादुर कार्कीले अनुसन्धान प्रतिवेदनमा ३० जना अभियुक्तले २७ करोड ५० लाख ७४ हजार पाँच सय रुपियाँ ठगी गरेको पाइएको जानकारी दिए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा २३ वटा उजुरीमार्फत ११३ जना पीडितले जाहेरी दिएको जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको १७८ पृष्ठको रायसहितको प्रतिवेदनमा पक्राउ परेका १६ जना र पक्राउ पुर्जी जारी भएपछि फरार भएका १४ जनामाथि सङ्गठित अपराध, ठगी तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय पेस गरिएको छ ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईको भूमिका प्रमुख देखिएको अनुसन्धानबाट खुलेको छ ।
यसै गरी यस प्रकरणमा पक्राउ परेका सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राईका छोरा निरज राई र तत्कालीन गृहमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा र रायमाझीका छोरा सन्दीप रायमाझीको भूमिका बिचौलियाको रहेको खुलेको छ । सागर थुलुङ राई, टङ्क गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मालगायतका अभियुक्तले पीडितहरूसँग प्रत्यक्ष रूपमा रकम असुल गर्ने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस