
काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सांसदहरुले भत्ता नलिइ दिएमा जनतामा राम्रो सन्देश जाने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको बैठकमा आफ्नो भनाइ राख्दै सांसद राणाले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्ष संसद् र संसदीय समितिका बैठकमा सहभागी भएको भत्ता नलिने घोषणा गर्दै अन्य सांसदहरुलाई पनि यस्तो राम्रो सन्देश जाने खालको कार्य गर्न आग्रह गरे । देशको अर्थतन्त्र राम्रो नभएको वर्तमान अवस्थामा बैठक भत्ता नलिने घोषणा गर्दा जनताहरुको माझमा सकारात्मक सन्देश जाने उनको भनाइ रहेको थियो ।
व्यापार घाटा बढेको र अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा सांसदहरूले पनि केही योगदान दिनुपर्नेमा उनले जोड दिए । सरकारले के गर्छ या कसो गर्छ भन्ने निगरानी र खबरदारी गर्नुपर्ने आफूहरुको जिम्मेवारी भएको भए पनि देश अत्यन्तै अप्ठ्यारो आर्थिक परिस्थितिको समयमा आफूहरुको पनि योगदान हुनुपर्ने उनले बताए ।
सांसद राणाले भने – 'हामीले विभिन्न बैठकमा संसद्मा भाग लिन्छौं । त्यसको भत्ता आउने गरेको छ । त्यसमा के गर्ने भन्ने पुनर्विचार गर्नुपर्छ भन्ने जरुरी रहेको ठान्छु । केही समयका लागि नलिए पनि हुन्छ । यसले राम्रै म्यासेज जाला भन्ने लागेको छ । मेरो व्यक्तिगत तर्फबाट आउने आर्थिक वर्षबाट बैठक भत्ता म लिँदैन भन्ने कुरा राख्न चाहन्छु ।'
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन वर्षे कार्यकालमा दोब्बर भन्दा बढीले मुलुकको ऋण बढेको उनले बताए । अघिल्लो दिनको बैठकमा ओलीले दुई घण्टा आफ्नो कुरा राख्दा तीन वर्षमा आफ्नो कार्यकालमा भएका उपलब्धि भनेको तर, २०७४ फागुनमा नेपालको ऋण ८ खर्ब ४२ अरब भएकोमा त्यसको तीन वर्षपछि त्यो ऋण बढेर १७ खर्ब ३७ अर्ब भएको कुरा चाहिँ भन्न विर्सिएको भन्दै उनले व्यंग्य गरे ।
प्रतिक्रिया दिनुहोस