
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, सचिव र मन्त्रीका सल्लाहकारलाई सोझै र निकटस्थमार्फत रकम बुझाएको बयान उनले दिएका छन् ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, त्यस बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्य, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, गृह सचिव टेकनारायण पाण्डेलगायतलाई रकम बुझाएको भण्डारीको भनाइ छ ।
इन्द्रजितमार्फत ५ करोड ५० लाख रुपैयाँ बुझाएको भण्डारीले प्रहरीलाई बताएका छन् । इन्द्रजितका छोरा नीरजले पनि १ करोड ५० लाख रुपैयाँ बुझेको उनको बयान छ । नीरज अहिले फरार छन् ।
तत्कालीन गृह सचिव प्रेमकुमार राईलाई इन्द्रजितमार्फत १ करोड रुपैयाँ गाडीमा राखिदिएको भण्डारीको दाबी छ । तत्कालीन गृहमन्त्री थापाले छोरा प्रतीकमार्फत मन्त्री क्वार्टरमै बोलाएर ३ करोड लिएको उनको दाबी छ । त्यसमध्ये १ करोड थापा पत्नी नैनकलाले बुझेको उनले बताएका छन् । यस्तै प्रतीकले २०७६ असारमा नक्सालको एक होटलमा छुट्टै १ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि प्रतीक फरार छन् । पूर्वगृहमन्त्री थापा मौन छन् ।
प्रहरी अधिकारीहरूका अनुसार तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जीसीमार्फत २०७६ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीका स्वकीय सचिव वज्राचार्यलाई १ करोड रुपैयाँ बुझाएको भण्डारीको बयान छ । अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा जनही १–१ करोड लिएको उनले प्रहरीलाई बताएका छन् ।
तत्कालीन गृहमन्त्री खाणलाई ३० लाख दिएको र गृह सचिव पाण्डेमार्फत मन्त्रीसहितलाई मिलाउन भनेर थप ८९ लाख ५० हजार रुपैयाँ दिएको भण्डारीले प्रहरीलाई बताएका छन् । खाणका स्वकीय सचिव केसीलाई ५ लाख दिएको उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्री रायमाझीलाई १ करोड ६० लाख र उनका छोरा सन्दीपमार्फत थप ४० लाख दिएको भण्डारीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस