aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वित्तीय संस्थाले दिने ऋणमा कडा निगरानी गर्दै राष्ट्र बैंक

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, १० जेठ २०८०
वित्तीय संस्थाले दिने ऋणमा कडा निगरानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको प्रयोग बारेमा खोजी गर्ने भएको छ। बैंकबाट जुन गतिमा कर्जा प्रवाह भएको छ, सोअनुसार अर्थतन्त्रमा त्यसको प्रतिफल अपेक्षित रूपमा नदेखिएकाले सूक्ष्म रूपमा ऋणको उपयोगिता र प्रभावकारितामा अध्ययन गर्ने भएको हो। उक्त अध्ययनका लागि आवेदन दिन योग्य इच्छुक परामर्शदाता फर्मलाई बोलपत्र आह्वान गरिएको छ।

अहिलेसम्म ऋणको उपयोगिताका बारेमा अध्ययन नभएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्र्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्। उनका अनुसार पछिल्लो समय यसबारे सरोकारवालाबाट अर्थतन्त्रमा उपलब्धि नदेखिएको गुनासो आएकाले यसबारे योग्य परामर्शदाताबाट अध्ययन गर्न खोजिएको हो। कर्जाको निरीक्षण गर्न खोजिएको छ,’ उनले अन्नपूर्णसँग भने। 

कतिपय उद्योगी तथा व्यवसायीले एक शीर्षकमा कर्जा लिएर अर्कोमा लगानी गरिएको चर्चा भएको थियो। धेरैको आशंका अन्य शिर्षकमा कर्जा लिएर घरजग्गा, शेयरमा लगानी गरिएकोे आशंका छ। यसैले राष्ट्र बैंकले पनि कर्जाको दुरुपयोग नहोस् भनेर चालू पुँजी कर्जामा कडाई गरिएको थियो। ‘जुन शीर्षकमा कर्जा लिएको हो, त्यसैमा मात्रै खर्च होस भनेर केन्द्रीय बैंकले यस्तो कदम चालेको थियो,’ उनले भने, ‘तर यो लागू भएसँगै व्यवसायीले विरोध गरे। हुन पनि यो व्यवस्थापछि बजार सुस्ताए देखियो। 

बैंकमा कर्जाको माग पनि कम भयो।’ यद्यपि अब यस्ता कर्जाको दुरुपयोग नहोस् भनेरै केन्द्रीय बैंकले स्वायत्त योग्य संस्थाबाट अध्ययन गरेर त्यसअनुसार नीतिगत व्यवस्था बनाउन खोजेको छ। केन्द्रीय बैंकमा जनशक्ति कम भएकाले बाहिरी विज्ञ, परामर्शदाता फर्मबाट अध्ययन गर्न लागेको उनले बताए। 

केन्द्रीय बैंकको सम्पत्ति र सेवा व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै नेपालमा निर्देशित ऋण कार्यक्रमको उपयोगिता र प्रभावकारिताको अध्ययनका लागि परामर्शदाता फर्मलाई आवेदन दिन पुनः अनुरोध गरेको छ। 

प्रतिक्रिया दिनुहोस