aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

नक्कली भुटानी शरणार्थी प्रकरणः रास्वपाका कुन सांसदले के भने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० जेठ २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणः रास्वपाका कुन सांसदले के भने ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले विभिन्न कुराहरु राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै रास्वापका सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका हुन् । 

रास्वपाका अध्यक्ष रवि लामिछानले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणबारे छानबिन गर्न ‘संसदीय विशेष छानबिन समिति’ गठन गर्न माग गरे । अहिले भइरहेको छानबिनले  जनताले चाहे जस्तो नतिजा दिन नसक्ने उनले बताए । 

लमिछानेले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्ले नै विशेष छानबिन समिति बनाउनुपर्छ ।  भ्रष्टचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आएका थियौँ, तीन राजनीतिक दल बसेको विषयमा आशङ्का व्यक्त गर्दै आएका थियौँ, आज आरोप लाग्न कुनै राजनीतिक दल बाँकी छैन, राज्यका निकायको अनुसन्धानमा नाम आइरहेको छ, अनुसन्धान गर्ने निकायको नाम आइरहेको छ, यस्तो अवस्थामा निष्पक्ष छानबिन हुन्छ भन्न सक्ने आधार छैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणकै सवालमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री निवासमा, सिंहदरबारमा लेनदेनको विषय आइरहेको सन्दर्भ उल्लेख गर्दै यो राज्यमा कस्लाई विश्वास गर्ने भन्ने आज प्रश्न उठेको उनको तर्क छ ।   

उनले भने, “विश्वासको वातावरण बन्द भएको छ, यसका लागि संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने हुन्छ, जुनजुन निकाय लागि परेका छन् कसैको पनि विश्वास गर्ने वातावरण छैन, छानबिनका क्रममा जसजसको नाम आएको छ उसलाई सोधपुछ गर्न नहुने?, छानबिनसमेत गर्न किन डराउनुपर्ने नाम आएको मान्छेको बारेमा ।” जसजसको नाम आएको छ उनीहरु सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने, कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको माग छ ।

“यत्रो ठूलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा प्रहरी प्रमुखले अडियो सही हो भनिरहनुभएको छ, एक पटक सोधबुझका लागि बोलाउन नहुने को हो उहाँहरु ?” सांसद लामिछानेले भने । 

त्यस्तै, रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी दायराभित्र ल्याइनुपर्ने बताए । विपद् जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र परिचालन गर्नुपर्ने सांसद वाग्लेको भनाइ छ ।

सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि छानबिन हुनुपर्ने माग गरे । विष्णुमती करिडोरको बाटो निर्माणमा तीव्रताका लागि पनि उनले आग्रह गरे । 

त्यसैगरि, सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सङ्कल्प प्रस्ताव दर्ता गराए पनि संसद् सचिवालयले त्यसलाई अघि बढाउन ढिलाइ गरेको बताईन् । 
 

प्रतिक्रिया दिनुहोस