
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू कोही अरूको थप्लोमा दोष थोपर्दै छन् भने कोही आरोपबाट पन्छिन केही नजाने जस्तो गरी बयान दिइरहेका छन् । प्रहरी अनुसन्धान र दिएका बयानले यस्तै देखाउँछ । अनुसन्धानमा तानिएका सरकारका पूर्वमन्त्रीदेखि उच्च तहका कर्मचारीहरू यो प्रकरणबाट कसरी शुद्ध भइन्छ भनेर बयानमा कुरा चपाइचपाइ बोलिरहेको अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकारी बताउँछन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईले दिएका बयान यस्ता छन् ।
बालकृष्ण खाँण : टेकबहादुर पाण्डेलाई नेपाल सरकारको सचिव भएपछि चिनेको हुँ । नरेन्द्र केसी मेरो निजी सचिव थिए । टोपबहादुर रायमाझीसँग चिनजान छ । भुटानी शरणार्थीसम्बन्धी स्थायी र दीर्घकालीन समस्याको समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनउपर छलफल भएको हो । निर्णयहरू कार्यान्वयन गर्न मन्त्रिपरिषद् समक्ष पेस भएको हो ।
कागजातहरू के–के पेस भए मलाई सम्झना भएन । नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीलाई कार्यक्षेत्र तोकेको छ । मन्त्रीले आफ्ना अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ। तसर्थ मन्त्रालयको अभिलेखहरूको सुरक्षा गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।
एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्दैन । भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाइ भुटानी शरणार्थी बनाइ तेस्रो देश पठाइदिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन । गैरभुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्य ठीक होइन । मैले सो कार्य गर्न सोच्न पनि सक्दिनँ ।
टोपबहादुर रायमाझी : केशव दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो । सानु भण्डारीसँग पनि मेरो फोन सम्पर्क भई कुराकानी भएको हुन सक्छ । तर, भुटानी शरणार्थीको विषयमा कहिले कुराकानी भएको थिएन । टेक नारायण पाण्डे मेरो जिल्लावासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो । इन्द्रजित राई पार्टीको कामको सिलसिलामा चिनजान भएको हो । बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ ।
मैले इन्द्रजितलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत हो। इन्द्रजित राई र सानु भण्डारीबीचको लेनदेन विषयहरूमा उहाँहरूले जान्ने कुरा हो । मलाई जानकारी छैन । मैले कुनै रकम लिएको छैन । मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकाले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ । सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ । कदम रोकिएको मात्र हो । आफैं सम्पर्कमा आउने थिएँ ।
डा. इन्द्रजित राई : गृह मन्त्रालयमा सल्लाहकार पदमा कार्यरत रहँदा सयौं मानिसको दिनमा फोन आउने गरेकोमा को–कोसँग कुरा हुन्थ्यो मलाई याद भएन । सानु भण्डारीसँग पनि मेरो फोन सम्पर्क भई कुराकानी भएको हुनसक्छ । तर, भुटानी शरणार्थीको विषयका कहिले कुराकानी भएको थिएन । केशवप्रसाद दुलाल, सानु भण्डारीबीच आर्थिक लेनदेनको विषयमा कहिले झगडा भएको थिएन र छैन । निजहरू मेरो अफिसमा एक/दुईपटक आउँदा सामान्य भेटघाट र विभिन्न विषयमा छलफल हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस