काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ। चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ। चौरसिया पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई फरकफरक कुसरमा दसवटा मुद्दा चलाइएको जानकारी दिए।
अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचारका १४ मुद्दा दर्ता गरेको छ। चौरसियाले राहत, करार शिक्षक र बालविकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको दाबी अख्तियारको छ। अख्तियारका अनुसार चौरसियाले शिक्षकनियुक्ति गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजारसम्म घुस लिएका छन्। उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
चौरसियाले दुई लाख घुस लिई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियामा परीक्षा नलिई प्रधानाध्यापक नगेन्द्रप्रसादको मिलोमतोमा जितेन्द्रप्रसाद कुर्मीलाई राहत शिक्षक नियुक्ति गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस