काठमाडौं, असोज १ गते । वैदेशिक रोजगार विभागले पछिल्लो एक महिनामा दुई करोड १४ लाख रुपियाँ बराबरको रकम पीडितलाई क्षतिपूर्ति भराउन सफल भएको छ । विभागले पछिल्लो महिना भदौमा मात्रै पीडितलाई त्यो बराबरको क्षतिपूर्तिबापतको रकम भराउन सफल भएको हो । जबकी आर्थिक वर्ष २०७५/७६ मा म्यानपावर विरुद्धका ४२९ मुद्दामा विभागले पीडितलाई नौ करोड ५९ लाख रुपियाँ क्षतिपूर्ति भराएको थियो।
विभागका अनुसार एकै महिनामा क्षतिपूर्ति भराएको यो अहिलेसम्मकै धेरै ठूलो रकम हो । केही महिनायता क्षतिपूर्ति भराउनेसँगै मुद्दा न्यायाधीकरणमा लैजाने काममा पनि तीव्रता आएको छ । विभागले एक महिनाभित्र दुई करोड ८५ लाख विगो दाबीसहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पेश गरेको जनाएको छ ।
विभागले भदौ महिनामा म्यानपावर व्यवसायीबाट १९ लाख ५० हजार जरिवानासमेत असुल गरेको छ । गत साउन महिनामा विभागले ७१ लाख बिगो भराएको थियो भने १७ लाख रुपियाँ जरिवाना तिराएको विभागले जनाएको छ । सो अवधिमा ८१ वटा म्यानपावरलाई विभागले ८७ लाख जरिवाना पनि तिराएको थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस