काठमाडौं । धेरै मानिसहरूले तौल घटाउन सुगर फ्री स्वीटनर प्रयोग गर्ने गरेका हुन्छन् । विशेष गरी सुगरका रोगी तथा चिनीजन्य पद्धार्थको प्रयोगबाट टाढा रहने सोच बनाएका तथा गुलियोका पारखीहरुले सुगर फ्री स्वीटनर सेवन गर्ने गरेको देख्न पाईन्छ । तर, त्यस्ता सुगर फ्री स्वीटनर पनि स्वास्थ्यका लागि खतरनाक हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।
डब्ल्यूएचओले चिनीरहित मिठाईको प्रयोगले वयस्क वा बच्चाहरूमा शरीरको तौल घटाउनका लागि कुनै फाइदा नगरेको प्रमाणको समीक्षा गरेको जानकारी दिएको छ । संगठनले शरीरको तौल नियन्त्रण गर्न वा नसर्ने रोगको जोखिम कम गर्न चिनीरहित मिठाईको प्रयोग नगर्न चेतावनी समेत दिएको छ ।
चिनीरहित मिठाईको दीर्घकालीन प्रयोगले खानपान र जीवनशैलीका कारण हुने मधुमेह, मुटु रोग र वयस्कहरूमा मृत्युदरको जोखिम बढेको पाइएको संगठनको भनाइ छ ।
डब्ल्यूएचओका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रान्सिस्को ब्रान्काले एक विज्ञप्ति जारी गर्दै खाना वा पेय पदार्थमा मिसिएको कुनै पनि प्रकारको मिठाईको साटो चिनीरहित मिठाई प्रयोग गर्दा लामो समयसम्म पनि तौल घटाउन मद्दत नगर्ने जानकारी दिएका छन् ।
उनले चिनीरहित मिठाई आहारको आवश्यक तत्व नभएको र पोषणको दृष्टिकोणले यसको कुनै मूल्य नभएको बताएका छन् । मानिसहरूले आफ्नो स्वास्थ्य सुधार गर्न जीवनको सुरुदेखि नै आफ्नो आहारमा गुलियोको मात्रा कम गर्नुपर्छ ।
मानिसहरूले अन्य विकल्प सोच्नुपर्ने स्वास्थ्य संगठनको भनाइ छ। उदाहरणका लागि प्राकृतिक रूपमा गुलियोपन भएका फलफूल र पेय पदार्थ खाने ।
प्रतिक्रिया दिनुहोस