aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ जेठ २०८०
बुर्तिबाङ बजारको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ ।

गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको संख्या दैनिक बढ्दै गएको छ । वर्षौं अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहोर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन । 

ढोरपाटन नगरपालिकाको केन्द्र समेत रहेको बुर्तिबाङ बजारको फोहोर अहिले वडा नम्बर ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । ढोरपाटनले ६ वर्षदेखि बाघखोरमा फोहोर व्यवस्थापन गर्दै आएको छ । त्यसअघि भूजीखोलामा फोहोर व्यवस्थापन गर्ने गरिएको थियो । अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहोर खोलामा बग्ने गरेको छ ।

अव्यवस्थित रूपमा व्यवस्थापन गरेको फोहोर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ । 

फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहोरबाट जलचर प्राणीलाई समेत असर पुगेको छ । अहिले फोहोर व्यवस्थापन गर्दै गरेको ठाउँ नगरपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ ।

बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौं यात्रु ओहोरदोहोर गर्छन् । पैदल यात्रुलाई फोहोरको दुर्गन्धले समस्या भएको छ । बुर्तिबाङ बजारको फोहोर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फाल्ने गरिएको छ । साँघुरो ठाउँ हुँदा फोहोर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताए । फोहोर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उनको भनाइ छ ।

‘बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहोर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौं, हालसम्म पाएका छैनौं,’ उनले भने । 

सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताए । वरपरको क्षेत्र दुगन्धित बनिरहेको उनको भनाइ छ । सिर्पाली भन्छन्, ‘फोहोर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्‍यो भने सबै फोहोर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस