aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मन्त्री किरातीको चुनौती: ‘प्रमाणित गर, एक मिनेट बस्दिन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ जेठ २०८०
मन्त्री किरातीको चुनौती: ‘प्रमाणित गर, एक मिनेट बस्दिन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । पशुपति क्षेत्र विकास कोषको जग्गा भुमाफियासंगको साँठगाँठ गरेर अपचलन गरेको आरोप लागेपछि उनले यस्तो चुनौती दिएका हुन् । 

आफूलाई थप धन सम्पत्ति र कुनै प्रकारको लोभ नरहेको प्रष्ट पार्दै उनले लेखेका छन्, ‘आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन ।’     

त्यस्तै, मन्त्री किरातीले आफूले सदाचारमा रहेर काम गर्दा खराब नियतका मानिसहरूले आफ्नो विवेक गुमाएको आरोप समेत लगाएका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले ।’ 

किरातीले उनको कार्यकाल भन्दा अगाडी नै भएको पशुपति क्षेत्र विकास कोषको जमिन हिनामिना भएको घटनालाई सामसुम पार्न खोजेको र भूमाफियाहरुले कब्जा गरेको उनीहरूकै रहेको ठहर हुनेगरि हाल साविकमा कोषले भोगचलन गरिरहेको जमिन मात्र कोषको नाममा रहनेगरि निर्णय गरेको आरोप केही सञ्चार माध्यमहरूले लगाएपछि उनको यस्तो टिप्पणी आएको हो । 

त्यसो त यसअघि मन्त्री किरातीले नेपाल वायुसेवा निगम नाफाको रहेको भनि सार्वजनिक गरेको वित्तीय विवरण समेत झुटो भएको भन्ने समाचारहरू प्रकाशित भएका थिए । ती समाचारहरूमा वास्तवमा निगम घाटामा रहे पनि भ्रम छर्दै नाफामा रहेको दाबी गरिएको भन्ने आरोप उनलाई लगाइएको थियो । 

 

प्रतिक्रिया दिनुहोस