aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ७८९ जनाको मृत्यु, ६६ जना अंगभंग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ७८९ जनाको मृत्यु, ६६ जना अंगभंग

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका सिलसिलामा ७८९ जनाले ज्यान गुमाएका छन् । खाडी मुलुकमा रोजगारीको प्रमुख गन्तव्य मानेर युवाहरू विदेशिँदा सरकारले आवश्यक सुरक्षा संयन्त्र र तालिमको व्यवस्था गर्न नसक्दा थप ६६ जना शारीरिकरूपमा अंगभंग भएका छन् । 

मृत्यु हुनेहरुमा ७६१ जना पुरुष रहेका छन् भने २८ जना महिला रहेका छन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणअनुसार फागुन महिनासम्ममा कुल ५५ लाख २६ हजार सात सय चार नेपाली श्रम स्वीकृति लिएर विदेश गएका थिए । फागुनसम्म तीन लाख ३७ हजार एक सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा तीन लाख तीन हजार दुई सय ६५ जना पुरुष रहेका छन् भने ३३ हजार आठ सय ७९ जना महिला रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

वैदेशिक रोजगारीको गन्तव्यका रूपमा रहेका मुलुक मलेसिया, कतार, साउदी अरब र युएई प्रमुख रहेका छन् । उल्लेखित मुलुकमा मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदार तीन चौथाइभन्दा बढी रहेका छन् ।

हालसम्म वैदेशिक रोजगारीका लागि संस्थागतरूपमा एक सय ११ देशलाई खुला गरिएको छ । २०७९ फागुनसम्म नौ सय म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि कामदार पठाउन इजाजत लिएका छन् । त्यस्तै, वैदेशिक रोजगार बोर्डबाट सञ्चालन भएका कल्याणकारी कार्यक्रमबाट चालु आर्थिक वर्षको फागुनसम्म चार सय ३८ महिला र एक हजार पाँच सय ७६ पुरुष गरी कुल दुई हजार १४ जना कामदार तथा परिवार लाभान्वित भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका सन्तानलाई वैदेशिक रोजगार छात्रवृत्ति सहायता उपलब्ध हुँदै आएको छ । चालु आर्थिक वर्षको फागुनसम्म एक हजार पाँच सय १४ छात्रछात्राले छात्रवृत्तिबापत एक करोड ४५ लाख २४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस