काठमाडौं । आज गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको दिन । अर्थात् दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको थियो ।

महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाईएको छ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइने छ ।
_20230529115423.jpg)
राष्ट्रपति रामचन्द्र पौडेल १६औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो ।

गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो । त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस