aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साहुमहाजनले पनि थाले आन्दोलन, चरित्रहत्या गरिएको आरोप

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, १६ जेठ २०८०
साहुमहाजनले पनि थाले आन्दोलन, चरित्रहत्या गरिएको आरोप

सप्तरी । मिटरब्याजीको नाममा आफूहरूको चरित्र हत्या एवं निर्दोषलाई फसाउने काम भइरहेको भन्दै सप्तरीका साहु महाजनले त्यसविरुद्ध संघर्ष समिति गठन गरेका छन् ।

सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ निवासी रामकिसुन यादवको अध्यक्षतामा साहु महाजन पीडित संघर्ष समिति गठन गरिएको हो ।

पहिलो चरणमा गठित संघर्ष समिति सानो आकारकै बनाइए पनि आगामी जेठ १९ गते जिल्लाभरिका साहु महाजनको बृहत् भेला बोलाई संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने अध्यक्ष यादवले बताए ।

‘समस्यामा परेका बेला सहयोग लिने तर तिर्नेबेला मिटरब्याजी भनेर प्रहरीमा निवेदन दिने अवसरवादीविरुद्ध अब हाम्रो पनि आन्दोलन सुरु हुन्छ,’ अध्यक्ष यादवले भने ।

पहिलो भेलामा जिल्लाका ६६ जना साहु महाजन सहभागि भएका थिए । उनीहरूले आगामी १९ गते हुने बृहत् भेलापश्चात् प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने तयारी समेत गरेको भेलामा सहभागी एक साहु महाजनले भने ।

सरकारले मिटरब्याजी पीडितको समस्या समाधानको नाममा र दबाबमा अध्यादेशमार्फत कानुन ल्याएर निर्दोष साहु महाजनलाई समेत उठिबास र बदनाम गराउन खोजेको भन्दै उनीहरूले संगठित रूपमा आवाज उठाउन संघर्ष समिति गठन गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस