
काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध लगातार भइरहेको आन्दोलन स्थगित भएको छ । सरकारले प्रदर्शनका क्रममा पक्राउ परेका २७ जना पहिचानवादीहरुलाई रिहा गर्दै वार्ताको आव्हान गरेपछि तीनमहिना लामो आन्दोलन स्थगित भएको हो ।
पहिचानवादीहरुले आमहड्तालसम्मको चेतावनी दिएपछि मंगलबार सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् ।
गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै सोही दिनदेखि पहिचान पक्षधरहरूले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका थिए ।
आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी हालसम्म पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भयो भने प्रहरीको गोली प्रहारबाट घाइते भएका गजेन्द्र फागो उपचाररत छन् । हालसम्म आन्दोलनकारी १५० भन्दा बढी घाइते भएको र अहिले पनि १५ जनाले मुद्दा खेपिरहेको संघर्ष समितिले जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजवुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ, यही सन्दर्भमा नामकरणको बारेमा रहेका आफ्ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी बार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’
प्रतिक्रिया दिनुहोस