काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका तीनजनाको बयान मंगलबार सकिएको छ । राई तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकिय सचिव नरेन्द्र केसी र सन्देश शर्माको बयान सकिएको हो ।
मंगलबार उनीहरुको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा लिइएको थियो । श्रोतका अनुसार उनीहरु तीनैजनाले इन्कारी बयान दिएका छन् ।
गत आइतबार इजलासले टंककुमार गुरूङ, सन्दीप रायमाझी र लक्ष्मी महर्जनको बयान लिएको थियो । इन्द्रजितको पनि आइतबार नै बयान लिने तयारी गरे पनि अस्वस्थ रहेको भनेपछि लक्ष्मीको बयान गराइएको थियो ।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा संगठित अपराध, ठगी, राज्यविरूद्धको कसुर, लिखत किर्ते र एकीकृत कसुरमा गत बिहीबार मुद्दा दर्ता गरेको थियो ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सानु भण्डारी, पूर्वसभासद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी हुनेछ ।
प्रतिक्रिया दिनुहोस