aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाख ठग्ने दुईजना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाख ठग्ने दुईजना पक्राउ

काठमाडौं । फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौं बस्ने निरोज बुढाथोकी रहेका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट ४० लाख असुलेको पाइएको प्रहरीले जनाएको छ । उनले जानका लागि प्रतिव्यक्ति १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारेर पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको प्रहरीको भनाइ छ ।

पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएको पाइएको छ ।

यसरी पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको सिनामङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस