aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दोलाखामा २० प्रतिशत घरका मानिस गायव, खण्डहर बन्ने चिन्ता

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • बुधबार, १७ जेठ २०८०
दोलाखामा २० प्रतिशत घरका मानिस गायव, खण्डहर बन्ने चिन्ता

दोलखा । भूकम्पपीडितको घर बनाउने नामावलीमा नाम निस्केपछि ७६ वर्षीय दुर्गाप्रसाद घिमिरेले दाजुभाइको घर बनाइदिए । कुनै दिन गाउँ फर्केलान् भनेर गौरीशंकर गाउँपालिका–२ गैरी टुनिभोटेका उनले सरकारले दिएको ३ लाख रकमको सदुपयोग गरे ।

घर बनाइदिए पनि बस्न भने कोही फर्केका छैनन् । उनी दैनिक दोबाटोमा कोही त फर्कन्छन् कि भनेर टोलाउन पुग्छन् ।

‘भूकम्पमा भत्केका घरको सूचीमा नाम निस्केपछि दाजुभाइको घर बनाइदिएँ,’ उनले भने, ‘घर बनाइदिएँ तर कोही फर्केका छैनन् ।’ उनका दाजुभाइ भारतको गान्तोकमा छन् । रोजगारीका सिलसिलामा भारत पसेका दाजुभाइलाई घर बनेको पत्तो भने छ । ‘कुनै दिन गाउँ सम्झँदै आए भने घर त रछ भनेर पनि बनाइयो,’ उनले भने, ‘आफ्नै सन्तानका लागि बनाएको घरमा समेत ताला लागेको छ, गाउँ रित्तो छ ।’ गाउँमा सडक र विद्युत् पुगेको छ । तर, सामान्य बिरामी परे पनि सिटामोल लिन कम्तीमा २ घण्टा हिँड्नुपर्ने बाध्यता नहटेको स्थानीय टहलबहादुर खड्काले बताए । ‘त्यसैले सुविधा खोज्दै गाउँ छाड्ने थामिएनन् । ‘हातखुट्टा लागेपछि गाउँमा बस्न कोही मान्दैनन्,’ उनले भने, ‘खेतीपाती कोही गर्न नमान्ने सबै सुख खोजेर हिँडेपछि गाउँ शून्य छ ।’ घर कुर्ने जिम्मा ६० कटेकाहरूको काँधमा रहेको उनले बताए ।

रोजगारीसँगै सहरी सुविधा खोज्दै गाउँ छाड्दै जाने हो भने गाउँ नै खण्डहर बन्ने उनलाई चिन्ता लागेको छ । ‘मर्दा मलामी पनि कोही हुँदैनन्,’ उनले भने, ‘हिँड्न सकिन्जेल मलामी गएका छौं, पछि लास उठाउने मान्छे पनि पाइँदैन कि जस्तो छ ।’

प्रतिक्रिया दिनुहोस