काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अस्पतालहरूलाई सात दिने अल्टिमेटम दिए लगत्तै स्वास्थ्य मन्त्रालयले समेत उनको कदमलाई साथ दिएको छ । विपन्न, असहाय, बेवारिसे बिरामीको लागि १० प्रतिशत शैया छुट्याउनु पर्ने व्यवस्था नमान्ने अस्पताललाई कारबाही गर्ने चेतावनी बालेनले दिएका थिए ।
बुधबार यही विषयमा पुन ताकेता परिपत्र जारी गर्दै स्वास्थ्य मन्त्रालयले बालनेको कदममा साथ दिएको हो । सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूका नाममा प्रेषित परिपत्रमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा भएको व्यवस्था पुर्णरुपमा लागु गर्न भनिएको छ ।
विज्ञप्तिमा उल्लेख छ, 'अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय बेवारिसे बिरामीको लागि निःशुल्क शैयाको दश प्रतिशत शैया छुट्याई निःशुल्क उपचार अनिवार्य रूपमा गराउनु पर्ने तथा मापदण्डको दफा ७२ मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्र भागमा देखिने गरी राख्नु पर्नेछ ।'
उक्त कानुनी व्यवस्था बमोजिम यस मन्त्रालय र मातहतका निकायहरूबाट विभिन्न स्वास्थ्य संस्थाहरूमा नियमित तथा आकस्मिक अनुगमनको रुममा मापदण्ड अनुसार भएको नदेखिएको तथा अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरू समेत प्राप्त भएको भन्दै मन्त्रालयले आपत्ति जनाएको छ ।
विज्ञप्तिमा अगाडी उल्लेख छ, 'स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानुनमा भएका सम्पूर्ण व्यवस्थाहरू सम्बन्धित स्वास्थ्य संस्थाहरूले पूर्णरुपमा पालना सबैमा अनुरोध गरिएकोमा हालसम्म यस मन्त्रालयको अनुरोध बमोजिमको कार्य कार्यान्वयन नभएको भनी पुनः विभिन्न माध्यमबाट गुनासो प्राप्त हुन आइरहेकोले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड पूर्ण पालना गर्नु हुन सम्बन्धित सबैमा नेपाल सरकार सचिव स्तरको निर्णयअनुसार जानकारीको लागि अनुरोध छ ।'
त्यसैगरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ विभाग तथा महाशाखाका निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री बस्नेतले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै ९ जना उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको स्वास्थ्य मन्त्रालय स्थित उच्च समाचार स्रोतले बताएको हो ।
स्रोतका अनुसार नयाँ निर्णय अनुसार नारायण ढकाललाई औषधि व्यवस्था विभागमा लागिएको छ भने हाल विभागका महानिर्देशकका रुपमा रहेका भरत भट्टराई राष्ट्रिय औषधि प्रयोगशाला तर्फ पठाइएको छ ।
त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा निमित्त मेसु बनाएर अर्थोपेडिक सर्जन डा. बद्री रिजाललाई लागिएको छ । साबिक निर्देशक डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ ।
परोपकार प्रसूति गृहमा डा. श्री अधिकारीलाई निर्देशक बनाइएको छ भने राष्ट्रिय तालिम केन्द्रमा डा. अनुज भट्टचनलाई लागिएको छ ।
प्रतिक्रिया दिनुहोस