काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले ‘अखण्ड भारत’ को नक्सामा नेपालको भू–भाग समेटेको प्रति विरोध जनाएका छन् । बुधबार संगठनले उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै विरोध जनाएका हुन् ।
भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति यस संगठन नेपाल सरकार तथा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको हो ।
भारतले लामो समयदेखि पटकपटक नेपालको सिमा अतिक्रमण गर्ने, लिपुलेक लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा सैनिक नै राखी कब्जा गर्ने, दशगजा अतिक्रमण गर्दै अनाधिकृतरुपमा नेपालको विभिन्न भूभागमा सडक बनाउने तथा सिमावर्ती क्षेत्रमा नेपालीको ज्यानै लिने अपराधिक कार्यसमेत गर्दै आएको छ ।
भारतले नेपालको ६० हजार हेक्टरभन्दा बढी सिमा अतिक्रमण गरेका तथ्य पटक पटक सार्वजनिक भईसकेको छ भने यस विषयमा धेरै पटक राष्ट्रवादी आम नेपालीद्वारा विरोध पनि भईरहेका छ । एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड राष्ट्रको स्वाभिमानमाथि पटकपटक प्रहार भइरहँदा पनि नेपाल सरकारले भारतको यस्तो कार्य रोक्न कुनै चासो र पहल गरेको नगरेको संगठनको भनाई छ ।
सरकारले राष्ट्रिय सुरक्षाको विषयलाई प्राथमिकतामा नराख्दा आफूलाई विश्वकै ठूलो प्रजातन्त्र भन्ने भारतले पटकपटक नेपालको राष्ट्रियतामा प्रहार गर्दै हेपेको हामी राष्ट्रवादी युवाहरुको ठहर छ । ‘यसप्रति गृह मन्त्रालय तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस र नेपाल सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई सशक्त ढंगबाट प्रतिवाद गरोस’, जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को भारत भ्रमणको अवसरमा नेपालको सिमा अतिक्रण लगायत नेपालको भुभाग ‘अखण्ड भारत’ नक्सामा समेटिएको विषय प्राथमिकताका साथ उठाई भारतलाई त्रुटिहरू सच्चाउन संगठनले जोडदार माग गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले अखण्ड भारतको नक्साबाट नेपालको भुभाग हटाउन, विगतमा भएका सम्पूर्ण अतिक्रमित जमिन फिर्ता गर्न तथा लिपुलेक लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना हटाउन भारत सरकार समक्ष गम्भीर रुपमा छलफल गरी हाम्रो राष्ट्र र राष्ट्रियताको पक्षमा निर्णय गराउनसमेत माग गर्दछौं ।’
नेपाल सरकार देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सुरक्षामा गम्भीर भई तत्काल आवश्यक कदम नचाले युवा कठोर रुपमा आन्दोलनमा जाने समेत चेतावती दिएका छन् ।
प्रतिक्रिया दिनुहोस