aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ जेठ २०८०
‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । 

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।  नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उहाँको भनाइ छ । 

“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसी भने, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ ।”

विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उहाँको विश्वास छ । सङ्घले नागरिकता विधेयकालाई निष्कर्षमा पु¥याउन भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ । राष्ट्रपति पौडेलले आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस