
परासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पश्चिम नवलपरासीबाट सहायक वन अधिकृत र एकजना बिचौलियालाई ६५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
बिहीबार पक्राउ पर्नेमा प्रतापपुर–सुस्ता सबडिभिजन वन कार्यालयका प्रमुख प्रशुराम चौधरी र बिचौलिया मनोजकुमार शर्मा छन् ।
पक्राउ परेका शर्मा वन कार्यालयलाई घर भाडामा दिएका घरधनी हुन् । सहायक वन अधिकृत चौधरीको घर बर्दिया हो ।
दुवैजनालाई सदरमुकाम परासीस्थित जिल्ला सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए ।
वन क्षेत्रबाट अवैधरुपमा बालुवा चोरी गरेर ल्याएको आरोपमा डिभिजन वन कार्यालयले १० दिनअघि तीनओटा ट्याक्टर फेचुवा गाउँबाट नियन्त्रणमा थियो ।
तीमध्ये एक ट्याक्टरधनीको मुद्दा मिलाइदिने भन्दै सहायक वन अधिकृतले सेवाग्राहीसँग ६५ हजार घुस मागेको अख्तियारले जनाएको छ ।
सेवाग्राहीबाट सोझै घुस लिँदा पक्राउ पर्ने डरले सहायक वन अधिकृत चौधरीले घरधनी शर्मालाई रकम बुझ्न लगाएका थिए ।
बिचौलिया शर्माले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले दुवैजनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । दुवैजनालाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।
पछिल्लोपटक सेवाग्राहीसँग सोझै घुस लिँदा अख्तियारको फन्दामा पर्ने डरले कर्मचारीहरुले नयाँ शैली अपनाएर बिचौलिया प्रयोग गर्ने गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस