
काठमाडौं । ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ ।
मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’
गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन, आफ्नो कुन दिन अन्तिम हुनेछ । तर, नियतिले भइदियो यस्तै । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा रहेका मोदी गाउँपलिका–४ खुइजेरी, पर्वतका सन्तबहादुरले यही गीतका शब्द टिपेर फेसबुक स्टाटस लेखेका थिए ।
गत बिहीबार साँझ साउदी अरेबियाको सरकारी सञ्चारमाध्यम साउदी प्रेस एजेन्सीले सन्तबहादुरलाई मृत्युदण्ड दिइएको अप्रिय खबर सुनायो ।
नेपाल र साउदी सरकारका तर्फबाट उनलाई जीवनदान दिलाउन पीडित परिवारसमक्ष गरिएका सबै प्रयास खेर गए । पीडित परिवारले ‘खुनको बदला खुन नै हुनुपर्ने’ अडानबाट पछाडि नहटेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ । स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी करार गर्दै मृत्युदण्डको फैसला २०५८ जेठमै सुनाएको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन गरेको आन्तरिक मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस