aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अत्याधिक गर्मीले तराईका विद्यालय धमाधम बन्द, जनजीवन प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० जेठ २०८०
अत्याधिक गर्मीले तराईका विद्यालय धमाधम बन्द, जनजीवन प्रभावित

यतिबेला देशैभर गर्मी बढेको छ। जेठको घामसँगै बढेको गर्मीले खासगरी तराइमधेसका जिल्लाको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो जिल्लाका विद्यालय पनि बन्द भइसकेका छन् भने कतै बिरामी बढेका छन् । बिहान र बेलुका घर बाहिर हिँडडुल गर्न सकिए पनि दिउँसोको तापक्रम उच्च भएसँगै सडकहरु सुनसान बनेका छन् ।

केही दिनयता अचाक्ली बढेको गर्मीले झापाको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । सर्वसाधारणहरु दिउँसो घर बाहिर निस्कन सक्ने अवस्था छैन । काम विशेषले निस्कनु परिहाले पनि ठाउँठाउँमा राखिएका जुस र पानी खाँदै हिँड्नु पर्ने अवस्था छ । यसको मार सबैभन्दा बढी विहान बेलुकाको छाकका लागिदिनभर श्रम गर्नुपर्ने मजदुरलाई परेको छ ।

गर्मी बढेपछि झापाका केही स्थानीयतहले विद्यालय विदा दिएका छन् । झापाको दमक, विर्तामोड र मेचीनगर नगरपालिकाका साथै कचनकवल गाउँपालिकाका विद्यालय विहीबारदेखि बन्द भइसकेका छन् । गर्मी बढेसँगै चिकित्सकहरुले खानपानमा विशेष ध्यान दिन र चर्को घाममा घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।

विराटनगर 
विराटनगरमा अहिले उख्खरमाउलो गर्मी छ । गर्मीको प्रभाव बालबालिकादेखि बृद्धबृद्धासम्मलाई परेको छ । गर्मीकै कारण विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको संख्या पनि बढेको छ । प्रदेशकै ठूलो कोशी अस्पतालमा यतिबेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या ह्वात्तै बढेको छ । कोशी प्रदेशका तराई क्षेत्रमा पर्ने जिल्लाका साथै छिमेकी प्रदेश र भारतबाट समेत आउने बिरामीको चापले अस्पतालमा बेड पाउनै मुस्किल परिरहेको छ ।

कोशीसहित विराटनगरका अस्पतालमा अहिले डिहाइड्रेसन, ज्वरो, झाडाबान्ता, हैजा, औलो, टाइफाइड, आउँ, रगतमासीसँगै आँखा र छालाको समस्या लिएर बिरामी अस्पताल आउने गरेका छन् । गर्मीका कारण हुन सक्ने स्वास्थ्य समस्याबाट बच्नका लागि सतर्कता अपनाउनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ । 

अत्याधिक गर्मीका कारण विराटनगर महानगरपालिकासहित कोशी प्रदेशका अन्य पालिकाले केही दिनका लागि विद्यालय बिदा दिएका छन् । तर, घाममा काम गर्नेहरूलाई भने गर्मीले निकै नै प्रभाव पारिरहेको छ । 

जनकपुर

विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको छ । गर्मीले तराई मधेसका प्रमुख शहरमा अहिले दिउँसोपख चलहपहलसमेत कम देखिएको हो । मानिसको चहलपहलमा कमी आएसँगै बजारमा उपभोग्य वस्तुको कारोबारसमेत घटेको छ । गर्मीको मौसममा अत्याधिकरुपमा चिसो पेय पदार्थको बिक्री भने बढेको छ । काँक्रो, तरबुजा लगायतका फलफूलको माग ह्वात्तै बढेको छ ।

यस्तै गर्मीका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् भने  जनकपुरधाम उपमहानगरपालिकाले आठ दिनका लागि विद्यालय बन्द गरेको छ । गर्मीले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा मजदुर प्रभावित भएका छन् । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले स्थानीयलाई लु लाग्ने जोखिम पनि उस्तै छ ।

किन बढ्यो गर्मी ?

आजभोलि तराईको तापक्रम अत्यधिक बढेको छ । सिमरा बिमानस्थलस्थित मौसम तथा जलविज्ञान विभागका अनुसार विगत ३ दिनदेखि यो क्षेत्रको तापमान अप्रत्यासितरुपले बढेको हो । गत साल न्युनतम ४ डिग्री र अधिकतम ३९ डिग्रीसम्म मापन गरिएको सिमराको तापमान यो बर्ष न्युनतम २ र अधिकतम ४२ डिग्रीसम्म पुगेको छ ।

मौसमविदहरुका अनुसार जाडोमा अत्याधिक जाडो र गर्मीमा अत्याधिक गर्मी हुनु राम्रो संकेत होइन । एक बर्षको अन्तरालमा ३ डिग्रीसम्म तापमान बढ्नुले प्राकृतिक असन्तुलन बिग्रिँदै गएको संकेत गरेको छ । पछिल्लो समय विभिन्न बाहानामा मानवले प्रकृतिमाथि गरेको दोहनको नतिजा नै अहिलेको अवस्था निम्तिएको बातावरणविद्को टिप्पणी छ ।

अहिले तराईमा बढेको अत्याधिक तापमानले आम जनजीवनलाई निकै प्रभावित बनाएको छ । आर्थिक हैसियत भएकाभन्दा पनि  ज्याला मजदुरी गरेर खाने कमजोर आर्थिक अवस्था भएकालाई यो गर्मीले सबभन्दा बढी प्रभावित बनाएको छ । बढ्दो गर्मीको प्रभावबाट मानव जगतलाई जोगाउन वन तथा वातावरण जोगाउनुबाहेक अन्य कुनै विकल्प नरहेको यसका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस