aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतको नजरमा प्रधानमन्त्रीको भारत भ्रमण, कसले के भने ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २१ जेठ २०८०
पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतको नजरमा प्रधानमन्त्रीको भारत भ्रमण, कसले के भने ?

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन् । 

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा त्रिदेशीय ऊर्जा व्यापारसम्बन्धी सम्झौता कोसेढुङ्गा साबित हुने बताए । पूर्वराजदूतद्वय प्राडा लोकराज बराल र प्राध्यापक विजयकान्त कर्णले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजनीतिक रूपमा विश्वास कायम गरी व्यापारिक सम्बन्धको आधारशिला तयार गर्ने गरी सम्पन्न भएको बताए । 

उनीहरूले विद्युत् व्यापारलाई भारत र बङ्गलादेशसम्म लाने गरी भएको सम्झौताले नेपालको समुन्नतिमा नवीन युग प्रारम्भ गर्न सक्ने बताए तर यसका लागि नेपालले पनि लगानीको विषयमा बृहत् तयारी गर्नुपर्ने उनीहरूको भनाइ छ । 

भ्रमण सकारात्मक
पूर्वमन्त्रीद्वय डा लोहनी र उपाध्यायले प्रधानमन्त्रीको भ्रमणमा उच्च तहको विश्वास निर्माण भएकाले भ्रमण सकारात्मक भएको बताए । पूर्वमन्त्री डा लोहनीले भने, “नेपालले भारतलाई जलविद्युत् उत्पादनका लागि नदीनाला दिनु र भारतीय पक्षबाट पनि नेपाल, भारत र बङ्गलादेशबिच त्रिदेशीय विद्युत् व्यापारको बाटो खोल्ने गरी कुरा आउनु सकारात्मक छ।”

लोहनीले विद्युत् खरिदको विषय चाहिँ अनिर्णित जस्तो देखिएको बताउँदै कसैले सम्झौता भएको र कसैले नभएको भन्ने कुरा आइरहँदा यो विषय प्रस्ट पारेर जानु राम्रो हुने सुझाव दिए । 

पूर्वमन्त्री एवं पूर्वराजदूत उपाध्यायले उच्च तहको भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअघि गरेको तयारीअनुसारै परिणाम आएको प्रतिक्रिया दिए । उनले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै सीमासम्बन्धी विषय उठाएको र यी विषय क्रमशः  समाधान हुँदै जाने विश्वास व्यक्त गरे । उनले भने, “ब्रेकथ्रु होस् । नेपालको बिजुली सस्तोमै किन्ने कुरासँगै १० वर्षमा १० हजार मेगावाट कसरी उत्पादन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । त्रिदेशीय विद्युत् व्यापारको सन्दर्भमा भूपरिवेष्टित देशको अधिकारको सम्मान गर्दै भारत अघि बढेमा सम्बन्ध नयाँ उचाइमा जान सक्छ ।”

प्रतिक्रिया दिनुहोस