
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी हिरासतमा छन्। उनले उक्त मुद्दामा थुनछेक बहसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष इन्कारी बयान दिएका छन्। इजलासमा उनीसँग गरिएका प्रश्नोत्तारमध्ये मुख्य–मुख्य यहाँ प्रस्तुत गरिएको छ।
प्रतिवादीहरूमध्ये ककसलाई चिन्नुहुन्छ ? निजहरूसँग लेनदेन रिसइबी/झगडा छ/छैन ?
प्रतिवादीमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, शमशेर मियाँ र आङटावा शेर्पालाई चिन्दछु। टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकाले, टेकनारायण पाण्डे सचिव भएकाले, नरेन्द्र केसी मेरो पहिलाको निजी सचिव भएको कारणले, शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष भएको कारणले र आङटावा कांग्रेसको नेता भएको कारणले चिन्दछु।
चिनेका प्रतिवादीहरूमध्ये कसैसँग लेनदेन, रिसइबी र झैझगडा छैन। अरू प्रतिवादीहरूलाई म चिन्दिनँ। नचिनेका प्रतिवादीहरूसँग रिसइबी र झैझगडा हुने कुरा नै भएन।
जाहेरवाला गजेन्द्र बुढाथोकीसमेत विभिन्न जाहेरवालाहरूले तपाईंसमेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाइ रकम फिर्तासमेत नगरी ठगी गरेको भन्ने बेहोराहरू उल्लेख गरी जाहेरी दिएका छन्। सो सम्बन्धमा तपाईंलाई के थाहा छ ? को–को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरेअनुसारको कसुर गर्नुभएको हो ? खुलाइदिनुहोस्।
गजेन्द्र बुढाथोकी समेतका कुनै पनि जाहेरवालाहरूलाई म चिन्दिनँ। मैले चिन्दैन नचिनेका र मसँग कुनै सम्पर्क नै नभएका व्यक्तिहरूसँग ठगी गरेको भन्ने जाहेरी बेहोरा झुट्टा हो। सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन। ममाथि लगाइएको उक्त आरोप नियोजित र कपोकल्पित छ।
तपाईंलाई सहप्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टेकनाथ रिजालसमेतका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा थप बयानसमेत पढी वाची सुनाइन्छ। निजहरूले गरेको उक्त बयानहरूको सम्बन्धमा तपाईंको के भनाइ छ ? खुलाइदिनुहोस्।
प्रतिवादी टेकनारायण पाण्डेले अनुसन्धानको क्रममा थप बयानमा लेखाएबमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुट्टा हो। कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो। टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन।
प्रतिवादी नरेन्द्र केसीले अनुसन्धानको बयानमा खुलाएबमोजिमको कागजको सम्बन्धमा को कसलाई किन लेखिएको हो, मलाई कुनै जानकारी भएन। प्रतिवादी आङटावाको अनुसन्धानको बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी छैन।
प्रतिवादी आङटावा शेर्पाले गर्नुभएको कागज बेहोरा सम्बन्धमा तपाईंको भनाइ के छ ?खुलाइदिनुहोस्।
प्रतिवादी आङटावा शेर्पाले लेखाउनुभएको कागज बेहोरा सुनी पाएँ। सो सम्बन्धमा आङटावा शेर्पासँग मेरो कुनै कुरा पनि भएको छैन र बयान बदल्न पनि लगाएको छैन।
प्रतिक्रिया दिनुहोस