aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वैदेशिक रोजगारीका नाममा २२ महिनामै डेढ अर्ब ठगी, दैनिक डेढ सयको उजुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ जेठ २०८०
वैदेशिक रोजगारीका नाममा २२ महिनामै डेढ अर्ब ठगी, दैनिक डेढ सयको उजुरी

काठमाडौं । देशमा रोजगारी नपाएर भौँतारिएका युवा विदेशमा आकर्षक तलब सुविधाको आश्वासन पाउनेबित्तिकै लाखौँ रकम बुझाएर वैध वा अवैध जुनकुनै प्रक्रियाबाट जान तयार हुन्छन् । बेरोजगार युवाको यही बाध्यता र लोभमा ‘ब्ल्याकमेल’ गर्दै ठगी गिरोहले वैदेशिक रोजगारका नाममा सयौँ व्यक्तिमाथि ठगी गर्ने गरेका छन्, जुन धन्दा मौलाउँदो छ ।

पछिल्लो २२ महिनामा वैदेशिक रोजगार विभागमा मात्रै यसरी ठगिएकाहरूको एक हजार पाँच सय १६ उजुरी परेका छन् । जसमा एक अर्ब १८ करोड ६७ लाख ५० हजार ९९ रुपैयाँ ठगी भएको छ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म मात्रै आठ सय २१ जाहेरी दर्ता भएका छन् । जसमा बिगो दाबी गरिएको रकम ६८ करोड २२ लाख ८८ हजार आठ सय ९६ छ । त्यसअघि ०७८/७९ मा ६ सय ९५ जाहेरी दर्ता भएकामा ५० करोड ४४ लाख ६१ हजार दुई सय तीन रुपैयाँ बिगो दाबी थियो । 

त्यस्तै, वैदेशिक रोजगारीका क्रममा भएका ठगी मुद्दालाई प्रहरीले पनि अनुसन्धान गर्छ । पछिल्ला ४६ महिनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा वैदेशिक रोजगार ठगीका तीन सय ८८ जाहेरी दर्ता भएका छन् । जसमा बिगो दाबी गरिएको रकम २१ करोड ८८ लाख ५६ हजार चार सय ५० रुपैयाँ छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा मात्रै एक सय ३५ जाहेरी दर्ता भएका छन् जसमा ठगीको रकम ११ करोड ५९ लाख ५२ हजार एक सय रुपैयाँ छ । त्यस्तै, ०७८/७९ मा एक सय २७, ०७७/७८ मा ५४ र ०७६/७७ मा एक सय १३ जाहेरी परेका थिए । ती आर्थिक वर्षमा क्रमशः एक करोड ७५ लाख १४ हजार पाँच सय ५०, एक करोड ३७ लाख एक हजार र सात करोड १६ लाख ८८ हजार आठ सय बिगो दाबी गरिएको थियो । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस