कैलाली । मादकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएका छन्। प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ। प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।
यसैगरी दुई दिनयता प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका मदनसिंह रानाको घर अगाडिको बारीमा लुकाइछिपाई राखिएको चार थान सालका गोलिया, कञ्चनपुर भीमदत्त नगरपालिका–११ मा भारतबाट भन्सार छली ल्याइएको ३५ हजार मूल्य बराबरको दाल, पेयपदार्थ र धनगढी उपमहानगरपालिकाको मिलन चोकबाट भन्सार छली गरी भित्र्याइएको रु ५० हजार मूल्य बराबरको मालसामान बरामद गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्ला हप्तामा सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागुऔषधको कारोबार जस्ता आपराधिक एवं अवाञ्छित क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको छ । यसैबीच बैतडीको मेलौली नगरपालिका–५ को अर्जुन अदल्ले नामको भीरबाट खसेर आज सोही जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का शङ्करदत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको मृत्यु भएको पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस