
काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण आइतबार स्थगित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकमा सरकारले ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुको अवरोधपछि आइतबारको बैठक स्थगित गरिएको थियो ।
राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिकरूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए ।
प्रमाणीकरण भएको विधेयक रद्द गर्नुपर्ने, संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए । बैठक स्थगन लगतै अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरेको भए पनि सहमति जुट्न सकेन । आज बिहान ११ बजे बैठक बस्नेछ ।
प्रतिक्रिया दिनुहोस