aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यी हुन् पाल्पा जिप दुर्घटनामा ज्यान गुमाएका चारजना, पाँचजनाको अवस्था गम्भीर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ जेठ २०८०
यी हुन् पाल्पा जिप दुर्घटनामा ज्यान गुमाएका चारजना, पाँचजनाको अवस्था गम्भीर

रामपुर । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 
       
मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने जिप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
       
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।  

प्रतिक्रिया दिनुहोस