
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकी छिन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्ने आवश्यकता पनि औँल्याएकी हुन् ।
“विश्वव्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती, वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्वपूर्ण पक्ष हो, यसका लागि आमसञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ”, शुभकामना सन्देशमा भनिएको छ, “वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानका रुपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आह्वान गर्दछु ।”
यसवर्ष विश्वव्यापीरूपमा प्लाष्टिकजन्य प्रदूषण निर्मूलको सन्देशसहित वातावरण दिवस मनाइँदै गर्दा यसको प्रयोगका कारण नेपालसहित विश्वव्यापीरुपमा ठूलो समस्याको रुपमा देखिँदै आएको छ । “प्लाष्टिकजन्य प्रदूषण कम गर्न यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायत विभिन्न विधि प्रयोग हुँदै आएका छन्”, सन्देशमा भनिएको छ, “मुख्य कुरा आम नागरिकले प्लास्टिकजन्य वस्तु प्रयोगको लत कम गनुपर्ने आवश्यकता छ । यसका लागि प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी व्यापक जनचेतना जागृत गनुपर्ने आवश्यकता छ ।”
प्रतिक्रिया दिनुहोस