aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हावाहुरी प्रभावितको घर वैशाख २१ देखि निर्माण थालनी हुने

  • रासस
    रासस
  • सोमबार, १६ बैशाख २०७६
हावाहुरी प्रभावितको घर वैशाख २१ देखि निर्माण थालनी हुने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताउनुभएको छ ।     
     
 बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनुभएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गर्नुभयो । “हावाहाहुरी प्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन ”, उहाँले भन्नुभयो ।     
     
 सङ्घीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नं २ को सरकारले सो काममा विमति नजनाउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रदेश नं २ का मुख्य सचिवको संयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको समेत सहयोग हुने बताउनुभयो । यही वैशाख २१ गते बारापर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने र तिनमा ७५० इञ्जिनीयर संलग्न हुने जानकारी उहाँले दिनुभयो ।     
     
 सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी दुईकोठे घर बनाइने जानकारी दिनुभयो । उहाँले क्षतिग्रस्त भएका घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बनाइने बताउनुभयो । यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुबाट जानकारी लिनुभएको थियो । सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई रु ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।     

प्रतिक्रिया दिनुहोस