
चितवन । ३५ सर्वसाधारण र तीन सैनिक गरी ३८ जनाको मृत्यु भएको त्यो त्रासदीपूर्ण घटना सम्झँदा जोकोहीको आङसिरिङ हुन्छ। उक्त विस्फोटमा एक बालकले पनि ज्यान गुमाएका थिए भने ७२ जनाभन्दा बढी घाइते भएका थिए। धेरै अंगभंग भएका त्यो दिन अर्थात् जेठ २३ गते। माडीबासीको त्यो कालो दिन बितेको आज १८ वर्ष पुगेको छ।
सार्वजनिक बसमा चढेका १२ जना सेनालाई लक्षित गरेर बाँदरमुढे खोलामा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बम विस्फोट गराएका थिए। बम विस्फोटको घटना उनीहरूका लागि नमेटिने घाउको डोब बनेको छ। यसले पीडितलाई नमिठो पीडा दिन्छ। पीडितलाई सधैं झस्काइरहन्छ। नचाहेर पनि सम्झन बाध्य छन्। सैनिकप्रति लक्षित विस्फोटको निशानामा महिला र बालबालिकासहितका निर्दोष नागरिक परेका थिए। १८ वर्ष बितिसक्दा पनि न्यायको लडाइँ रोकिएको छैन। जति जति वर्ष बित्दै जान्छ, उनीहरूको पीडा पनि बल्झिनैरहन्छ। आज पनि शारीरिक र मानसिक पीडा बोकेर बाँच्न बाध्य छन् बाँदरमुडे घटनाका पीडित।
घटना सम्झँदा त्यसबेलाका घाइते झस्कन्छन्। त्यतिबेला लागेको घाउभन्दा बढी न्यायका लागि लड्दा पाएको दुःखले चराउँछ उनीहरूलाई। त्यसैले त चाहेर पनि बिर्सन सकेका छैनन्। त्यसबेलाका विद्रोही पक्षको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्री छन्। तर, आफूहरूप्रति लक्षित गरेर प्रधानमन्त्री दाहालले समेत कुनै सम्बोधन नगरेको गुनासो पीडितले गरेका छन्।
बाँदरमुढे पीडितका लागि राज्यस्तरबाट खासै सम्बोधन नभएको उनीहरू बताउँछन्। पीडितहरूको गुनासो छ, ‘प्रधानमन्त्रीज्यू हामीलाई न्याय खोइ ?’
प्रतिक्रिया दिनुहोस