aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सरकारी कार्यालयमा टिकटक बनाउनेलाई कारबाही गरिने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, २४ जेठ २०८०
सरकारी कार्यालयमा टिकटक बनाउनेलाई कारबाही गरिने

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्मचारीलाई कार्यालय परिसर र पोशाकमा टिकटक सहितका भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध गरेको छ।

सबै सरकारी बेतनभोगीलाई यो नियम लागु हुने प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकार गृह मन्त्रालय, गुनासो व्यवस्थापन शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सबै सरकारी बेतनभोगीलाई प्रशासन कार्यालयको तर्फबाट निर्देशन कार्यान्वयनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

उनका अनुसार सरकारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न, कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारबाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जालमार्फत शेयर गर्नेरगराउने कार्य बन्द गर्न, कार्यालयको काम कारबाहीको विवरण जानकारी गराउँदा र सार्वजनिक गर्दा व्यक्तिगत प्रचारप्रसार र जस लिने आशयले नगर्न समेत प्रशासन कार्यालयले सबै सरकारी बेतनभोगी कर्मचारीलाई आग्रह गरेको छ।

यस्तै आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई तन्काएर विज्ञापन गरेजस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा समेत नराख्न र सार्वजनिक पद धारण गरेका सबै राष्ट्रसेवक कर्मचारीले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा नराख्न प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस