aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मन्त्रालय भन्छ बजेट पठाएका छौ, महानगर भन्छ बजेट नै छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असोज २०७६
मन्त्रालय भन्छ बजेट पठाएका छौ, महानगर भन्छ बजेट नै छैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बजेट अभावको कारण पाँच पदको लागि माग गरेको ४४ जना व्यक्तिको नतिजा सार्वजनिक गर्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले असारमा पाँच पदको लागि ४४ जना करारमा कर्मचारीका रूपमा आवश्यक परेको भन्दै फर्म भराएर परीक्षा दिन लगाएको थियो । तर, स्वास्थ्य मन्त्रालयबाट बजेट नआएको कारण उक्त परीक्षाको नतिजा आजसम्म सार्वजनिक गर्न नसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले नै स्थानीय निकायमा स्वास्थ्य सम्बन्धी कर्मचारी करारमा नियुक्त गर्नका लागि मन्त्रालयबाट कुनै डोनरबाट बजेट निकासा गर्ने भनिएपछि कर्मचारी भर्न गर्न मन्त्रालयले निवेदन पठाएपछि उक्त प्रक्रिया अघि बढेको थियो । 

तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्‘ हामीले सरकारले तोकेको दरबन्दी अनुसार पैसा दिने गरेका छौ । महानगरमा पनि पैसा पठाएका छौ । हामीले पठाएको पैसा अपुग भयो भने हामी पुन पैसा पठाउँछौ । हामीले अधिकृतमा १ जना कर्मचारी पठाएका पनि थियौ महानगरले चाहिँदैन भनेर फिर्ता पठायो ।’ 
 
मन्त्रालयका प्रवक्ताको भनाइ र महानगरपालिकाको भनाइ कतै पनि मेल आएको देखिँदैनन् । मन्त्रालयले महानगरलाई पठाउने भनेको रकम पठाइसकेको बताइरहेको छ भने महानगर बजेट अभावका कारण करारमा लिने  भनेका कर्मचारी नियुक्त गर्न नसकिएको बताइरहेको छ ।  मन्त्रालयले भने बमोजिम महानगरपालिकाले मेडिकल डाक्टर, स्टार्फ नर्स, एच.ए र कार्यालय समिति जस्ता पदमा कर्मचारी माग गरिएको थियो । 

मेडिकल डाक्टर​
महानगरपालिकाले मेडिकल डाक्टर तर्फ १० जना कर्मचारी माग गरेको थियो । त्यसमा ९० जना परीक्षार्थीले  फर्म भरेका थिए । ९० जनामध्ये उक्त परीक्षामा १७ जना सामेल भएका थिए भने परीक्षा असार ११ गते भएको थियो । 

स्टाफ नर्स

महानगरपालिकाले स्टाफ नर्सको लागि १० जना कर्मचारी मागेको थियो । त्यसमध्ये फर्म भर्ने परीक्षार्थी ५७९ जना रहेका थिए भने ५०८  जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए । यसको परीक्षा असार १४ गते भएको थियो । 

हेल्थ एसिस्टेन्ट(एच.ए) 
महानगरपालिकाले एच.एको लागि पनि १० जना कर्मचारी माग गरेको थियो । यस पदको लागि ३८९ जना परीक्षार्थीले फर्म भरेका थिए । भने ३३७ जना व्यक्ति परीक्षामा सामेल भएका थिए । यसको परीक्षा असार महिना १५ गते भएको थियो । 

ल्यापटेक्निसियन
ल्यापटेक्निसियनको लागि असार १६ गते परीक्षार्थीले परीक्षा दिएका थिए ।उक्त कार्यको लागि  १० जना माग गरिएको ठाउँमा ३०९ जनाले दरखास्त बुझाएका थिए भने २८९ जना परीक्षामा उपस्थित भएका थिए । 

कार्यालय सहयोगी
काठमाडौँ महानगरपालिकाले कार्यालय सहयोगीका ४ पदको लागि ४ जना व्यक्ति माग  गरेको थियो । त्यसमा दरखास्त बुझाउने २४४ जना व्यक्ति रहेका थिए । काठमाडौँ महानगरपालिकाले ६ महिनाको लागि पाँच पदमा ४४ जना कर्मचारीहरू माग गरिएको थियो । तर, अहिले स्वास्थ्य मन्त्रालयको  बजेट अभावको कारण नतिजा सार्वजनिक गर्न नसकेको काठमाडौँ महानगरपालिकाका मानव संशोधन विकास महाशाखा प्रमुख बखत बहादुर साउतले बताए । 

उनले भने ‘कर्मचारी राखेपछि महिना मरेपछि तलब दिनु पर्छ हामीसँग उनीहरूलाई दिने तलब नभएकोले नतिजा सार्वजनिक नगरेको हो’ । करारमा फर्म भरेका ४४ जना व्यक्ति मध्ये मेडिकल डाक्टरले १०० रूपैयामा फर्म भरेका थिए भने अन्य कर्मचारीको खुल्न आएको छैन । 

महानगरपालिकाले २०७३ सालमा पनि स्थायी अधिकृत स्तरमा ८१ जना कर्मचारी माग गरी फर्म भराएर परीक्षा नदिईकन परीक्षार्थीलाई अलपत्र पारेको थियो । महानगरपालिकाले विभिन्न कोटा दलित, जनजाति, आदिवासी, महिला, जस्ता कोटामा परीक्षार्थीलाई  फर्म भराएको थियो । तर त्यसको नतिजा महानगरले निकाल्न सकेको छैन । न पैसा नै फिर्ता गर्न सकेको छ । 

यसबारे महानगरपालिकाको प्रशासनसँग कुनै जवाफ छैन । यस बारे महानगर प्रशासन यस्तो भन्छ ‘ त्यो बेलामा छुट्टै पदपूर्ति समिति थियो । त्यो सबै काम पदपूर्ति समितिले नै गथ्र्याे तर अहिले ती सबै मानिसहरू अरू नै क्षेत्रमा कार्यरत भएकाले त्यस विषय अगाडि बढेन सकेको छैन । अब महानगरको प्रदेश तहमा सरकार आएपछि मात्र यो कार्य अगाडि बढ्नेछ’ ।  

प्रतिक्रिया दिनुहोस