aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

झोलामा सहकारी बोकेर स्थानीयको १० लाख झ्वाम

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, २६ जेठ २०८०
झोलामा सहकारी बोकेर स्थानीयको १० लाख झ्वाम

धनगढी । कैलाली गौरीगंगा नगरपालिका–४ राजीपुरका शंकर आर्चायको समूह मिलेर २०७२ सालमा नमुना ज्योति कृषि सहकारी स्थापना गरे । आचार्य अध्यक्ष रहेको सहकारीमा ३६ जनाले १० हजारका दरले ३ लाख ६० हजार लगानी गरे ।

१२ महिनासम्म उनीहरूले मासिक पाँच सयका दरले २ लाख १६ हजार रकम सहकारीमा जम्मा गरे । तर, अहिले सहकारीको रकम हिनामिना भएको छ ।

शेयर सदस्य देवीप्रसाद गौतमले तीन वर्षदेखि सहकारीले मासिक रकमसमेत उठाउन छाडेको बताए । उनका अनुसार सहकारीको झण्डै १० लाख रकम हिनामिना भएको हो । ‘वार्षिक साधारणसभा एकपटक पनि भएको छैन,’ उनले भने, ‘त्यो रकमको हिसाब कताब छैन । तीन वर्षदेखि लेबि पनि उठाएका छैनन् ।’

सहकारी स्थापना गर्न १०-१० हजार लगानी गरेका शेयर सदस्यले पाँच-पाँच हजार फिर्ता लिएका थिए । उनीहरूले मासिक रूपमा उठाउँदै आएको ५ सयबाट २ सयमा झारे ।

झन्डै पाँच वर्ष सहकारीको अध्यक्ष भएर आचार्यले चलाए । अहिले अर्जुन सापकोटा सहकारीको अध्यक्ष छन् । उनले झन्डै तीन वर्षदेखि सहकारीको मासिक रकमसमेत उठाउन सकेका छैनन् ।

सहकारीले गरेको ऋण लगानी उठ्न नसकेपछि सहरकारीले मासिक रकम उठाउनसमेत बन्द गरेको हो । ‘राजनीतिक दलहरू मिलेर सहकारी खोलेका हुन् । उनीहरूलाई पटकपटक सहकारी चलाउन सक्ने–नसक्ने विषयमा सोधेका छौं,’ गौतमले भने, ‘सकिँदैन भने अर्को सहकारीमा मर्ज गर्न सकिन्छ । अफिस पनि छैन । पैसा अर्को व्यक्तिले चलाएको छ ।’

प्रतिक्रिया दिनुहोस