काठमाडौँ । उनकै शब्दमा “हाम्रो पशुपतिजस्तै” उज्जैनको महाकालेश्वर दर्शन गरी भेटी चढाएर फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार साँझ साँच्चैको पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । केही मन्त्रीहरूसँगै पशुपतिनाथ पुगेका उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गरेका थिए ।

प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल पनि पशुपति पुगेका थिए । प्रधानमन्त्रीलाई धेरै सांसदहरूले भारत उज्जैनको महाकालेश्वर दर्शन गर्नेले नेपालको पशुपतिनाथको किन दर्शन र पूजापाठ नगरेको भन्दै प्रश्न गरेका थिए ।

गएको जेठ २२ गते सांसद हरि ढकालले ‘प्रचण्ड नास्तिक हो कि आस्तिक ?’ भन्ने प्रश्न समेत गरेका थिए । सोही दिन , ‘म सिद्धान्त तः र प्रष्ट धर्मनिरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन भन्ने पक्षमा छु, यो कुरा प्रष्ट होस् ।’ भन्दै जवाफ दिएका प्रधानमन्त्रीले खास जवाफ चाहिँ आज मात्र दिएको विश्लेषण गरिंदैछ ।

उनले भारतमा महाकालेश्वर मन्दिर दर्शन गर्ने क्रममा गेरु वस्त्र लगाए पनि आज चाहिँ पशुपतिनाथ दर्शनको क्रममा दौरा सुरुवाल लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस