aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी, अरु कुन पदमा को विजयी बने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ जेठ २०८०
समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी, अरु कुन पदमा को विजयी बने ?

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे ।

यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी एको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गरेका थिए ।

उपमहासचिवमा प्रेम गौतम (एक सय ६४), प्रतिज्ञा बुढामगर (एक सय २२) र लेखनाथ सिकारु (एक सय ३९) मत प्राप्त गरी विजयी भएका छन् । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना (एक सय १७), अनिल शाही (एक सय ३६) तथा पूर्णबहादुर कार्की (८६) मत प्राप्त गरी विजयी भएका छन् । 

यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित)मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी भएको निर्वाचन कमितिले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भएका छन् । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिए ।  

शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस