aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

शौचालय बनाउँदा भ्रष्टाचार गर्ने नारायणप्रसाद पौडेलविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ जेठ २०८०
शौचालय बनाउँदा भ्रष्टाचार गर्ने नारायणप्रसाद पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौं । कास्कीको कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध बिशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । 

उनले कैलाश टेत्सुओ प्राथमिक विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ । विद्यालयको शौचालय निर्माण गर्नका लागि रकम निकासा भएकोमा सो कामका लागि पौडेलले उक्त रकम बैकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको आयोगको भनाई छ । 

जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक–पटक निर्देशन दिइएकोमा पौडेलले रकम दाखिलासमेत नगरेका हुन् । उनले शौचालय निर्माणको लागि आएको दुई लाख रुपैयाँ र विद्यालयको नाममा रहेको अक्षय कोषको एक लाख १२ हजार रुपैयाँ गरी तीन लाख १२ हजार हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस