aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले पहिलो पटक औंला उठाए, २९ उजुरीमा आज छानबिन हुने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, २९ जेठ २०८०
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले पहिलो पटक औंला उठाए, २९ उजुरीमा आज छानबिन हुने

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरी दर्ता भएका छन् । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिकांश कानुन व्यवसायीका उजुरी छन् । 

उजुरीबारे छलफलका लागि समितिको बैठक सोमबार बोलाउने तयारी गरिएको छ । उजुरीको समयसीमा शुक्रबार सकिएको थियो । २९ मध्ये एक मात्र उजुरीलाई गोप्य रूपमा पठाइएको छ । अन्यको उजुरीकर्ताको नाम सार्वजनिक छ । 

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले कार्कीविरुद्ध तोकिएको समयभित्र २९ उजुरी दर्ता भएको र त्यसलाई अब प्रक्रियामा लगिने बताए । धमलाले भने, “२९ वटा उजुरी परेका छन् । प्रतिनिधि सभामा बजेटको सैद्धान्तिक छलफल आइतबार सकिने र सोमबार नै समिति बस्ने तयारी छ । अब उजुरी सार्वजनिक गरेर अध्ययन हुने छन् र सुनुवाइको प्रक्रिया अघि बढ्ने छ ।”

कार्कीविरुद्ध अर्घाखाँची जिल्लामा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले समेत उजुरी दिएका छन् । सुनुवाइ समितिमा बहालवाला न्यायाधीशले प्रस्तावित न्यायाधीशमाथि उजुरी दिएको यो पहिलो पटक हो । भट्टराईले कार्कीमा नेतृत्व क्षमता अभाव रहेको, कानुनको शून्यताको अवस्थामा सिफारिस भएको मुख्य जिकिर निवेदनमा गरेका छन् । संवैधानिक परिषद् ऐनसम्बन्धी विधेयक विचाराधीन रहेको अवस्थामा कार्यविधि कानुन पारित नहुँदै कार्कीको सिफारिस हुनु त्रुटिपूर्ण रहेको भट्टराईको उजुरीमा उल्लेख छ ।

संवैधानिक परिषद्सम्बन्धी कानुनी रिक्तताको पूर्ति नभएकै अवस्थामा कानुन विज्ञहरूसँगको परामर्शका आधारमा सर्वसम्मत रूपमा संवैधानिक परिषद्ले कार्कीको नाम सिफारिस गरेको थियो । वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । वैशाख २७ गते सुनुवाइका लागि पत्राचार भएको थियो । 

प्रतिक्रिया दिनुहोस