aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नक्कली शरणार्थी प्रकरणमा समयमै फैसला आउनेमा सकस, अझै कति दिन लाग्छ ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, २९ जेठ २०८०
नक्कली शरणार्थी प्रकरणमा समयमै फैसला आउनेमा सकस, अझै कति दिन लाग्छ ?

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा संलग्न अभियुक्तहरूलाई काठमाडौं जिल्ला अदालत समक्ष मुद्दाको किनारा लगाउने तीनवटा विकल्पहरू छन् । ती हुन् – ‘थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्ने ।’

जिल्ला अदालतमा ‘हेर्दाहेर्दै’ मा रहेको यो मुद्दामा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले तर्क नदोहोर्‍याउन कानुन व्यवसायीलाई आग्रह गरिरहेका छन् । र, भनेका छन् ‘तपाईंहरू (कानुन व्यवसायी)ले सहयोग गर्नुहोस् । मंगलबारसम्म बहस सक्नुपर्छ ।’ पुर्पक्षको प्रक्रियामा प्रतिवादीको पक्षबाट कानुन व्यवसायीले घण्टौं समय बहसमा खर्चेका छन् । न्यायाधीश न्यौपानेलाई प्रतिवादी पक्षका कानुन व्यवसायीलाई कन्भिन्स गरी समय व्यवस्थापन गर्ने चुनौती देखिएको छ । 

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलगायतको प्रतिरक्षामा कानुन व्यवसायीले बयानका आधारमा कसैलाई अभियोजन गर्न नमिल्ने जिकिर गर्दैे प्रतिरक्षा गरिरहेका छन् । पूर्वमहान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता, अधिवक्ताले इजलासमा आफ्नो पक्षलाई धरौटी तथा साधारण तारेखमा छोड्न तर्क गरिरहेका छन् । वादीतर्फका सरकारी वकिलहरूले पुर्पक्षको लागि अभियुक्तहरूलाई थुनामा राख्नुपर्ने तर्क गर्दै हदैसम्मको सजाय गर्नुपर्नेमा जोड दिएका थिए । अभियुक्तहलाई थुनामा नराखी छोडेमा प्रमाण नष्ट गर्ने र मुद्दाको निष्पक्ष सुनुवाइमा बाधा पुग्ने दाबी गरेका थिए । जाहेरवालाको तर्फबाट अन्य निजी अधिवक्ताले समेत बहस गरेका थिए । 

इजलासबाट मंगलबारसम्ममा बहस सक्न समय दिइएको छ । समयमै सकियो भने बुधबार आदेश आउला । तन्किँदै गएमा पछि पनि आउन सक्छ। आदेशको टुंगो छैन ।

जेठ १० गते दर्ता भएको मुद्दामा वादी र प्रतिवादी पक्षका कानुन व्यवसायीका कारण बहस तन्किएको छ । यो मुद्दा यसै साता टुंग्याउने गरी बहस गर्न न्यायाधीश न्यौपानेले इजलासमा पटकपटक आग्रह गर्दै आएका छन् । आइतबारको इजलासमा पनि न्यायाधीश न्यौपानेले कानुन व्यवसायीसँग मंगलबारसम्म बहस सक्न आग्रह गरे । गत आइतबारदेखि सुरु भएको थुनछेक बहसमा ९ जना अभियुक्तको पक्षबाट कानुन व्यवसायीले बहस गरेका छन्। पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङको बहस सकिएको छ । आइतबार दुई जना अभियुक्तको तर्फबाट बहस भएको थियो । 

तत्कालीन गृहसचिव पाण्डे र पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपको तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए । मुद्दामा वकालतनामा भरेका कानुन व्यवसायी इजलासमा नआउँदा सुनुवाइ केही बेर प्रभावित भएको थियो । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत पक्राउ परेका बाँकी ९ जना प्रतिवादीका तर्फबाट बहस हुनै बाँकी छ ।

यो १४ पटक पेसी चढेको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार, चार दिनदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस भइरहेको छ । ‘इजलासबाट मंगलबारसम्ममा बहस सक्न समय दिइएको छ,’ उनले भने, ‘बहस समयमै सकियो भने बुधबार आदेश आउला। बहस तन्किँदै गएमा आदेश पछि पनि आउन सक्छ । आदेशको टुंगो छैन ।’ 

प्रतिक्रिया दिनुहोस