aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अनामनगरको सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयको विरोध

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • सोमबार, २९ जेठ २०८०

काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन् । सोमबार वडा नं. २९ ले वडा कार्यालय बनाउनका लागि डोजर चलाएपछि स्थानीयले विरोध गरेका हुन् ।  

काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीयले उक्त जग्गामा भवन बनाउन नदिने अडान लिएपछि विवाद भएको हो ।  

नगर सभाबाट पास गरेर सो स्थानका भवन बनाउन लागिएकोमा स्थानीयले विरोध गर्न नहुने  सोही वडाका वडा सदस्य सन्तोष ढुङ्गानाले बताए । उनले भने, ‘वि.सं २०७३ सालमा सर्वदलीय बैठक भएर नै यहाँ भवन बनाउने लागिएको हो । तत्काल विभिन्न कारणवश भवन बनाउन सकिएको थिएन । तर, अहिले हामीले नगर सभाबाट पास गरेर नै यहाँ भवन बनाउन लागिएको हो । यसमा स्थानीयले विरोध गर्नुको औचित्य छैन ।’ 

त्यस्तै, वडा कार्यालयको भवन बनाउनका लागि डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । उनले भने, ‘यहाँ वडा कार्यालयले भवन बनाउन लागेको हो । त्यसकै लागि खाल्डो खन्न लागिएको हो । सार्वजनिक जग्गामा के कहाँ बनाउने हो भन्ने महानगरको अधिकारको कुरा हो । यसमा स्थानीयले विरोध गर्नै पर्दैन ।’ 

सार्वजनिक जग्गाको सुरक्षाका लागि पार्क निर्माण गरिएको ठाउँमा भवन बनाउन नहुने स्थानीयको तर्क छ । सामाजिक विकास समाजका सदस्य ओम उप्रेतीले स्थानीयले संरक्षण गरेको जग्गामा वडा कार्यालयको भवन नबनाउन नदिने अडानमा छन् । उनले भने, ‘सामाजिक विकास समाजले उक्त जग्गामा वृक्षारोपण गरेर पार्क बनाएको थियो । अनामनगर बासीले संरक्षण गरेको जग्गा हो यो । नजिकै दुई रोपनी जग्गा रहेको छ । त्यहाँ बनाउनु भवन तर यहाँ एक रोपनी जग्गा भएको ठाउँमा किन बनाउनु पर्‍यो ?’  

उनले भूमाफियाहरुले वडा अध्यक्षलाई यहाँ भवन बनाउन सिफारिस गरेको आरोप लगाए । उनले भने, ‘धेरै भएको ठाउँमा भू माफियाले खानको लागि यहाँ हामीले संरक्षण गरेको ठाउँमा भवन बनाउन आएका हुन् । सबै भूमाफियाहरु मिलेका छन् । उनीहरूले नै वडा अध्यक्षलाई भवन बनाउन भनेका हुन् ।’ 

 

प्रतिक्रिया दिनुहोस