aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

महिलाको हत्यापछि बलात्कार गर्ने अधिकारीलाई जन्मकैद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
महिलाको हत्यापछि बलात्कार गर्ने अधिकारीलाई जन्मकैद

काठमाडौं । चालीस वर्षीया महिलाको हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीको हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो ।

प्रकाशले फूलमायालाई सलको पासो लगाएर हत्या गरेपछि बलात्कार गरी गरगहना लुटेका थिए ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।

२०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फूलमाया सोही साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्तीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका क्रममा सिसीटिभी क्यामरा फुटेजलाई आधार मान्दा शंकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फूलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या गरे पनि हत्यापछि आवेगमा बलात्कारसमेत गरेको स्वीकार गरेका थिए ।

प्रहरीले २०७९ कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस