
काठमाडौँ । फौजदारी मुद्दा दर्ता भएपछि अदालतमा हुने सुरु बहसको मुख्य उद्देश्य हो– मुद्दाको किनारा नहुञ्जेल अभियुक्तलाई थुनाभित्र राख्ने कि बाहिर ? ‘पुर्पक्षको सुनुवाइ’ वा ‘थुनछेकको बहस’ भनिने यस्तो प्रक्रिया सामान्यतः एकरदुई दिनमा सकिन्छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षको बहस चलेको ९ दिन पुग्दा सोमबारसम्म आधाभन्दा बढी अधिवक्ताको बहस हुनै बाँकी छ । किनकि आरोपीहरूले जिल्ला अदालतमा अधिवक्ताहरूको ‘शक्ति प्रदर्शन’ नै गराएका छन् ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि सानु भण्डारी र केशव दुलालसम्म गरी प्रहरी हिरासतमा रहेका १८ प्रतिवादीविरुद्ध सुरुका तीन दिन सरकारी वकिलहरूले बहस गरे । त्यस क्रममा न्यायाधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ताहरू दिनेश भट्टराई, प्रकाश घिमिरे, सुरबहादुर परियार तथा निर्मला मरासिनीले बहस गर्दै अभियुक्तहरूलाई थुनामै राख्नुपर्ने आधार र कारण पेस गरे । उनीहरूले बयान मात्र होइन, आर्थिक लेनदेनका प्रमाण पनि देखाए ।
चौथो दिनबाट प्रतिवादीका वकिलहरूले बहस सुरु गरेका हुन् । नवौं दिनसम्म प्रतिवादीका ५५ जनाले बहस गरिसकेका छन्, ५५ जना नै बाँकी छन् । हालसम्म प्रतिवादीहरू टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी गरी १२ जनाको बहस सकिएको छ । अब बालकृष्ण खाण, आङ्टावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, लक्ष्मी महर्जन र हरिभक्त महर्जनको पक्षबाट बहस हुन बाँकी छ ।
खाणका तर्फबाट मात्रै ३४ वकिल छन् । उनको तर्फबाट बहस गर्न अधिवक्ताहरू हरिहर दाहाल, ललित बस्नेत, शेरबहादुर केसी, महादेव यादव, रमण श्रेष्ठ, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, खम्बबहादुर खाती, सुरेन्द्र महतो, जितेन्द्रबहादुर पाण्डे, नृसिंहकुमार खत्री, मंगलसुन्दर शिल्पकार, जनकराज श्रेष्ठ, अनु भट्टराई, शंकर केसी, निरुजा चापागाईं, केशरमणि अर्याल, अञ्जु रेग्मी अर्याल, देवबहादुर महत, विश्वनाथ खनाल, एकराज पोखरेल, पंकज कर्ण, योगेन्द्र अधिकारी, धर्मराज खनाल, मणिराम उपाध्याय, चित्रबहादुर केसी, अनिता शर्मा, पुरुषोत्तम अधिकारी, सन्तोष भण्डारी, हरि न्यौपाने, लक्ष्मी थापा, दिनेश रोक्का र रमिता महर्जन तयारी अवस्थामा छन् ।
त्यस्तै रिजालका तर्फबाट बहस गर्न तयार १६ जनामा रमण श्रेष्ठ, श्यामबाबु केसी, प्रतिभा भट्टराई, प्रकाश भुजेल, डोरविक्रम थापा, शम्भेश्वर कडरिया, पुरुषोत्तम अर्याल, राजेन्द्र घिमिरे, अनिलकुमार लाल, प्रेमराज सुवेदी, हीरा कार्की, बुद्धि खरेल, राजेन्द्र पोखरेल, राजकुमार सुवाल, शान्ता थापा र पराश्वर कँडेल छन् ।
प्रतिक्रिया दिनुहोस